लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दर्शन कल्याण ठकुरी समाजको १४औं साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न

IMG

शारदा शाही, मंगलापुर तिलोतमा।दर्शन कल्याण ठकुरी समाज रूपन्देही क्षेत्रीय इकाई करहिया, मक्रहर र आनन्दवनको १४औं साधारण सभा तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित तिलोत्तमा पार्कमा इकाई अध्यक्ष सूर्यबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि मिना सेन मल्लले जातीय भेषभूषा, भाषा र संस्कृतिको संरक्षणका लागि समुदायभित्र आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले परम्परा र संस्कृतिको जगेर्ना नै पहिचानको मूल आधार भएको उल्लेख गर्दै युवापुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न र त्यसको संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो।


त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले ठकुरी भाषा पछिल्लो समय धेरैले प्रयोग गर्न थालेकोप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले भाषा र संस्कृतिको संरक्षणसँगै समाजका सदस्यहरू सभ्य, अनुशासित र जिम्मेवार बनेमा मात्र समाजको समग्र विकास सम्भव हुने बताउनुभयो। सामाजिक एकता र सहकार्यले मात्र समृद्ध समाज निर्माण गर्न सकिने उहाँको भनाइ थियो।साधारण सभाको अवसरमा समाजको शैक्षिक, सामाजिक र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। एसइ परीक्षामा ए ग्रेड तथा प्लस टुमा पनि ए ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो। साथै भारतको पुणेमा सम्पन्न १७औं एमजीके अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक हासिल गर्ने खेलाडीलाई विशेष सम्मान प्रदान गरिएको थियो।


त्यसैगरी समाजको विकासमा सहयोग पुर्‍याउने भूमिदाता तथा देउसी-भैलो कार्यक्रममा चार हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। सम्मान कार्यक्रममार्फत समाजप्रति योगदान दिने व्यक्तिहरूको योगदानको कदर गरिएको र यसले अन्य सदस्यहरूलाई पनि सामाजिक सेवामा प्रेरणा मिल्ने विश्वास लिएको अध्यक्ष सूर्यबहादुर मल्लले बताउनुभयो।कार्यक्रममा साधारण सभासँगै वनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो, कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन समाजका सचिव शारदा शाहीले गर्नुभएको थियो।


कमेन्ट गर्नुहोस्