लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राम जानकी दिव्य धाम निर्माणका लागि महायज्ञ आयोजना

IMG

तिलोतमा, मंगलापुर।श्री राम जानकी दिव्य धाम निर्माण तथा भौतिक पूर्वाधार विकासको उद्देश्यले राम जानकी शिव मन्दिर कुटी एवं यज्ञ सम्पादन मूल समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर–९ मंगलापुरमा श्रीमद् भागवत महापुराण तथा श्रृङ्गारिक महायज्ञ २०८२ आयोजना हुने मन्दिर समितिले जानकारी दिएको छ। 

माघ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यस महायज्ञको तयारी एक वर्षदेखि नै सुरु गरिएको समितिले जनाएको छ।महायज्ञबाट संकलित सम्पूर्ण रकम मन्दिरको पूर्वाधार निर्माण तथा विकासमा खर्च गरिने राम जानकी शिव मन्दिर समितिका अध्यक्ष खेमेन्द्र रानाले जानकारी दिनुभयो। उहाँका अनुसार यस धार्मिक आयोजनाले मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन, भक्तजनका लागि सुविधाजनक संरचना निर्माण गर्न र धार्मिक पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


मन्दिर समिति सचिव धीरज पुनका अनुसार महायज्ञ सञ्चालनमा करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ४० लाख रुपैयाँसम्म बचत हुन सक्ने लक्ष्य राखिएको छ। भक्तजनहरूको इच्छाअनुसार दैनिक पूजाआजा, हवन, कर्मकाण्ड तथा विशेष धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने उहाँले बताउनुभयो।राम जानकी शिव मन्दिर करिब ८ गठ्ठा क्षेत्रफलमा फैलिएको छ, जहाँ विभिन्न देवीदेवताका पाँचवटा मन्दिर र पञ्चमुखी पोखरी रहेको छ। यस मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ।


कथावाचक चन्द्रकान्त काफ्लेका अनुसार यस पवित्र तपोभूमिमा १०८ वटा पिपलका रुख रहेका छन्, जसले स्थानलाई अझै आध्यात्मिक बनाएको छ। यहाँ बसेर ध्यान साधना गर्न सकिने मात्र होइन, पितृको स्मरणमा श्राद्ध तथा कर्मकाण्ड गर्न समेत उपयुक्त वातावरण रहेको छ।महायज्ञमार्फत धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय समुदायलाई एकताबद्ध बनाउने र मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। समितिले सम्पूर्ण भक्तजन तथा सर्वसाधारणलाई यस पुण्य अवसरमा सहभागी भई धार्मिक कार्यमा योगदान दिन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्