
शारदा शाही, सैनामैना / टेवाको आर्थिक सहयोग तथा अपाङ्गता महिला संघ–रुपन्देहीको आयोजनामा शीतलहरबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता महिला संघ रूपन्देहीकी अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा बुटवल–१६ र सैनामैनामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै राहत सामग्री वितरण गरिएको हो।
जाडो मौसममा स्वास्थ्य जोखिम बढ्ने भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडाको विशेष आवश्यकता पर्ने तथ्यलाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो। उहाँले यस्तो सहयोगले समुदायमा अपाङ्गता भएका व्यक्तिहरूको मनोबल बढ्ने र उनीहरूको दैनिकी सहज हुने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा टेवाको तर्फबाट प्रतिनिधिहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले अपाङ्गता भएका महिलाहरू र कमजोर वर्गलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए।
न्यानो लुगा वितरण कार्यक्रममा बुटवल–१६ वडा कार्यालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। वडा कार्यालयले स्थानीय सरकारको तर्फबाट सामाजिक संरक्षणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने र अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।त्यसैगरी रुपन्देही अपाङ्ग पुनर्स्थापना केन्द्रले कार्यक्रमको समन्वय तथा सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। केन्द्रका प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, सूचीकरण तथा राहत वितरणमा सहजीकरण गरेका थिए।
कार्यक्रममा सहभागी लाभग्राहीहरूले न्यानो कपडा पाउँदा खुशी व्यक्त गर्दै आयोजक तथा सहयोगी संस्थाप्रति आभार प्रकट गरे। उनीहरूले यस्तो सहयोगले जाडोबाट जोगिन मात्रै नभई आफूहरूलाई समाजले सम्झिएको अनुभूति भएको प्रतिक्रिया दिए।सहयोगी संस्थाहरू टेवा, बुटवल–१६ वडा कार्यालय तथा रुपन्देही अपाङ्ग पुनर्स्थापना केन्द्रप्रति आयोजक अपाङ्गता महिला संघ–रुपन्देहीले विशेष धन्यवाद व्यक्त गरेको छ। संघले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको हकहित, सशक्तिकरण र जीवनस्तर उकास्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस प्रकारका कार्यक्रमहरूले सामाजिक एकता, सहकार्य र मानवीय संवेदनालाई मजबुत बनाउने विश्वास गरिएको छ।
कमेन्ट गर्नुहोस्