
तिलोत्तमा नगरपालिका भित्र रहेका न्यायिक समितिमा रही कार्यरत मेलमिलाप कर्ताहरुलाई कानुनी साक्षरता सम्बन्धी पुनर्ताजगी तालिम शुरु भएको छ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।नगरपालिकाको आयोजनामा सञ्चालित तालिम सोमबार सम्पन्न भएको हो ।तालिम नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता र नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
तालिमको अवसरमा बोल्नुहुँदै उपप्रमुख जागेश्वर देवी चौधरीले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।न्यायिक समितिका आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको समेत उपप्रमुख चौधरीले बताउनुभयो । उहाँले गाउगाउँमा मेलमिलापकर्ता तथा दक्ष जनशक्ति उत्पादन गरी न्यायिक कार्यलाई छिटो छरितो सम्पादन गर्न मेलमिलापमा जोड दिइने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा थप आधारभूत तालिम र काम गर्दै आएकाहरूको लागि पुनर्ताजगीको व्यवस्थापन गर्न नगरपालिकामा समन्वय गर्ने बताउनुभयो।
प्रमुख अतिथि तथा नगर प्रमुख रामकृष्ण खाणले मेलमिलापकर्ताहरूको क्षमता विकास गर्ने कार्यक्रमहरू गर्न, वडामा मेलमिलापकर्ताहरुलाई सहज बनाउन यस्ता तालिमले सहज बनाउने कुरा ब्यक्त गर्नुभयो । उहाँले मेलमिलापकर्ताहरू नगरको विकासमा समेत सहयोग गर्ने भएकाले उनीहरूको समग्र बिकास र दक्षताको लागि नगरपालिकाले काम गर्ने बताउनुभयो । तालिममा प्रमुख प्रशिक्षक सिताराम अधिकारिले मन्तव्य व्यक्त गर्दै प्रशिक्षकहरूले सिकाएका कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न सबै मेलमिलाप कर्ताहरुलाई आग्रह गर्नुभएको थियो । सो अवसरमा प्रशिक्षक दिनेश अर्यालले मेलमिलापकर्ताहरुको कार्यगत क्षमताले न्यायिक सम्पादन तथा निरुपणमा ठुलो सहयोग पुगेको बताउनुभएको छ। कार्यक्रममा आएका सहभागीहरुलाई स्वागत गर्दै न्यायिक समिति सदस्य सन्त बहादुर बस्नेतले तालिममा सिकेका कुरालाई ब्यबहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरू , वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिनुभएका थियो । मेलमिलापका आधारभूत सिद्धान्त, महत्त्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, प्रहरी , प्रकाशन र अदालतको काम लगायत विषयमा जानकारी गराइएको थियो । पहिलो चरणको कार्यक्रम समापन पश्चात अब दोस्रो चरणको कार्यक्रम शुरु हुने कार्यक्रमकि संचालक शोभा खनालले जानकारी दिनुभएको छ।
कमेन्ट गर्नुहोस्