
डिङ्गरनगर,तिलोत्तमा।दर्शन कल्याण ठकुरी समाज रूपन्देहीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ। आधुनिक नेपालको एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति सम्मान, श्रद्धा र स्मरण व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम समाजको सक्रिय सहभागिता र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रमको अवसरमा ठकुरी समाज रूपन्देही जिल्ला तिलोतमा नगरपालिका–४ डिङ्गनगरस्थित आफ्नै भवनबाट भव्य र्याली निकालिएको थियो। र्याली जानकीनगर, ड्राइभरटोललगायत विभिन्न स्थानको परिक्रमा गर्दै पुनः समाजकै भवनमा आएर समापन गरिएको थियो।र्यालीमा रूपन्देही जिल्लाभर रहेका १४ वटा इकाई कार्यालयका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानर बोकेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, राष्ट्रप्रेम र स्वाभिमानको सन्देश प्रवाह गरेका थिए।
र्यालीपश्चात आयोजित औपचारिक कार्यक्रममा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै उनको एकीकरण अभियान, राष्ट्रप्रतिको दूरदर्शी सोच र राष्ट्रिय एकताको महत्वबारे चर्चा गरिएको थियो। वक्ताहरूले विखण्डित नेपाललाई एकीकरण गरी आजको सिङ्गो नेपाल निर्माणमा पुर्याएको पृथ्वीनारायण शाहको योगदान ऐतिहासिक तथा अतुलनीय रहेको उल्लेख गरे। उनका ‘दिब्य उपदेश’ आज पनि राष्ट्र निर्माण, सुशासन र राष्ट्रिय हितका लागि मार्गदर्शक सिद्धान्तका रूपमा उत्तिकै सान्दर्भिक रहेको वक्ताहरूको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि तिलोतमा नगरपालिका प्रमुख रामकृष्ण खाणले पृथ्वीनारायण शाहको नेतृत्व, साहस र कूटनीतिक रणनीतिले नै नेपाललाई स्वतन्त्र, सार्वभौम र एकीकृत राष्ट्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले राष्ट्रिय एकता, स्वाभिमान र पहिचान जोगाइराख्न सबै नेपालीले पृथ्वीनारायण शाहका आदर्शबाट प्रेरणा लिन आवश्यक रहेकोमा जोड दिनुभयो।
सो अवसरमा बोल्दै दर्शन कल्याण ठकुरी समाज रुपन्देही जिल्ला अध्यक्ष मिनासेन मल्लले एकता र सद्भाव संगै नेपालको एकिकरणका लागि गरेको पृथ्वीको ईतिहासलाई बर्तमानमा सम्झेर सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले पृथ्वी जयन्ति संगै राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी समाजले गरेको र्याली र कार्यक्रममा सहभागी सबैलैई धन्यबाद दिंदै आगामी कार्यक्रमहरुमा अझ उत्साह पुर्वक उपस्थितिको लागि अनुरोध गर्नुभएको छ।
दर्शन कल्याण ठकुरी समाज रूपन्देहीका पदाधिकारीहरूले समाजले यस्ता राष्ट्रिय महत्वका दिवसहरू निरन्तर रूपमा मनाउँदै इतिहासप्रति चेतना फैलाउने तथा नयाँ पुस्तालाई राष्ट्रप्रेमतर्फ अभिप्रेरित गर्ने कार्य गर्दै आएको बताए। कार्यक्रमले सामाजिक एकता मजबुत बनाउनुका साथै राष्ट्रिय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको धारणा रहेको थियो। कार्यक्रममा समाजका इकाईका युवाहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
कमेन्ट गर्नुहोस्