
तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा सातौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।तिलोत्तमा-६, कुञ्जलापुरस्थित उमा आधारभूत बिद्यालयको खेल मैदानमा समुद्घाटन भई सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले जानकारी दिए ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले बताए ।प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै नगर प्रमुख खाणले तिलोत्तमा नगरपालिकाका सबै खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिनुका साथै आत्मनिर्भर समेत बनाउने बताए । सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले खेलबाट संसार जित्न सकिने भन्दै बिद्यार्थी लेभलबाटै प्रतियोगितामा सहभागी भई पालिकाको नाम देश बिदेशमा चम्काउन सकिने हुँदा खेलमा सहभागी हुन सबैलाई आग्रह गरिन।उनले खेलमार्फत स्वास्थ्य र राष्ट्रका लागि समेत योगदान दिन सकिने भन्दै सबैको सहभागिताले खेललाई अझ उत्प्रेरणा मिल्ने बताईन।
शिक्षा अधिकृत धनी प्रसाद शर्माको स्वागतबाट शुरु भएको ३ दिनसम्म चल्ने सो प्रतियोगिताको समुद्घाटन कार्यक्रमको संचालन खेलकुद समितिका सदस्य मनोज केसीले गरेका थिए। प्रतियोगितामा कबड्डी, भलिबल, हाइजम्प,लङ्गजम्प,त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट,एथ्लेक्टिक्सका विभिन्न ईभेण्टहरु,रिले दौड सहित ५ वटा विधाका ५४ वटा इभेन्टहरु हुने छन् । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका सदस्य सोभित दर्लामी मगरले बताए ।प्रतियोगिता नगरपालिकाको परिसरमा र उमा आधारभूत बिद्यालयको प्राङ्गणमा गरि २ ठाउँमा संचालन हुनेछ।
कमेन्ट गर्नुहोस्