
शारदा शाही, तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत ११औं उद्योग दिवसको अवसरमा लघु उद्यमी सम्मेलन तथा उत्कृष्ट लघु उद्यमी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा तिलोतमा नगरप्रमुख रामकृष्ण खाणले तिलोतमा नगरपालिकाले तिलोतमा नगरपालिकालाई आर्थिक हप बनाई नगरबासी सबैलाई उद्यमी बनाउने नगरपालिका भित्रै रोजगार सिर्जना होस् र आर्थिक विकास होस् भन्ने चाहेको बताउनुभयो। नगर प्रमुख खाणले मेडपाले १७ वटै वडामा तालिम सञ्चालन गरिरहेको र उद्यमीहरू उत्पादन गरिरहेको बताउँदै उद्यमीहरूले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न तिलोतमा नगरपालिकाले सधैँ सहयोग गरिरहेको पनि बताउनुभयो। त्यति मात्रै नभएर नगरपालिकाले उद्यमीहरूलाई सम्मान गर्ने काम पनि गर्दै आइरहेको र यो कार्यलाई निरन्तरता दिने पनि उहाँको भनाइ थियो। यसरी सम्मान गर्दा अझै उद्यमी हरूको सङ्ख्या बढ्दै जाने अरु उद्यमीहरूलाई पनि प्रोत्साहन पुग्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो। उद्यमीहरूले आफ्नो व्यवसायलाई सानो मान्न नहुने बताउँदै अन्तर्राष्ट्रिय स्तरका व्यवसायहरू पनि सानै र थोरैबाट नै सुरुवात भएको उहाँले बताउनुभयो।
त्यस्तै उपमेयर जगेश्वर देवी चौधरीले आफूहरूले तिलोतमा नगरपालिकालाई उद्यमीहरूको नगर बनाउन चाहेको बताउनुभयो। त्यसका लागि मेडपाले दिएको तालिमहरूले धेरै सहयोग गरिरहेको पनि उहाँको भनाइ थियो। साथै महिलासँग उपप्रमुख कार्यक्रमले पनि धेरै तालिम सञ्चालन गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । तालिम दिएर वा लिएर मात्र नहुने तालिमको सदुपयोग पनि गर्नुपर्ने भएर नै उद्यमी प्रोत्साहनका लागि यो कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो। सम्मान हुनको लागि पनि उद्यमीहरूले केही मापदण्ड पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रशासकीय अधिकृत खुमलाल भुसालले उद्यमीहरूको प्रोत्साहन र आर्थिक उन्नतिका लागि नगरपालिकाले सम्मान कार्यक्रमको आयोजना गरेको र यस कार्यलाई निरन्तरता दिने पनि बताउनुभयो। तिलोत्तमा नगरपालिका आर्थिक बिकास संंयोजक वडा नं ६ का अध्यक्ष गणेश पाठक को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा सर्फ उद्योग, हिमालयन महिला ट्रेलर्सका सञ्चालक तथा कामना ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर का सञ्चालकहरू गरी तीनजनालाई सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका सदस्यहरू, उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। व्यवसायी तथा उद्यमीहरूले आफूहरूले पनि विभिन्न समस्याहरू भोगेर मात्रै यहाँसम्म आइपुगेको अनुभव बताउनुभएको थियो। त्यसरी नै विद्यार्थीहरूले आफ्नो सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए। नगरपालिकाबाट तालिम लिएका विभिन्न उद्यमीहरूले व्यवसाय गरिरहँदा आफूहरूले विभिन्न समस्या भोग्नुपरेको भएपनि अहिले उपभोक्ताहरूको धेरै माग आउने गरेकोले आफू निकै खुसी रहेको अनुभव साट्नुभएको थियो।
कमेन्ट गर्नुहोस्