लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीजका गीत कान थुन्नुपर्ने नभइ सबैले सुन्न मिल्ने हुनुपर्छ

IMG

हरिदेवी कोइराला

तीजको गीतमा अरू गीतको भन्दा भाका र लयको विशेषता बढी हुन्छ । तीजको नाचगान शुरु गर्दा सबै अतिथिलाई आदरपूर्वक गीतबाटै स्वागत गर्ने चलन छ । नाच्नेहरुले पनि शुरु गर्नुअघि नाचमै हात जोडेर नमस्कार गर्छन् । यसरी शुरु हुन्छ तीजको नाचगान ।


नाचगानकै क्रममा विषयवस्तु क्रमशः प्रस्तुत गरिन्छ र अन्त्यमा प्रस्तुति दिएका सबैले आफ्ना अनुभव र सन्देश साझा गर्छन् । गीतमार्फत नै सबैसँग भेट्दाको खुशी र सम्मान व्यक्त गरिन्छ । गीतको भाका र अर्थ अनुसार नाच्नेले हाउभाउ, मुद्राहरू र भाव प्रदर्शनी गर्दै आफ्नो नृत्य प्रस्तुत गर्छन् । प्रस्तुति गर्नेले गीतमा वा नाचमा गल्ती भए माफी माग्ने चलन छ । अन्त्यमा धन्यवाद दिइन्छ र फेरि अर्को वर्ष भेटौंला भन्ने आशय  व्यक्त गरिन्छ र सबैप्रति कृतज्ञता व्यक्त गरेर फेरि हात जोडेर बिदा लिइन्छ ।


यसरी शुरुदेखि अन्त्यसम्म नाचगान शिष्टतापूर्ण हुन्छ । यसैले तीजको मौलिक स्वरूप नै शिष्टता र सम्मानसँग जोडिएको छ । आज पनि कतिपय तीज प्रतियोगिता वा सांस्कृतिक कार्यक्रममा यस्तो परम्परागत अभ्यास देख्न सकिन्छ । विशेषगरी साना विद्यार्थीहरूले गर्ने प्रस्तुतिमा त अझ स्पष्ट रूपमा देखिन्छ । यसले तीज अझै मौलिक स्वरूपमै जीवित छ भन्ने अनुभूति गराउँछ ।


तीज वास्तवमै मनोरञ्जन र पर्व दुवै हो । यसले केवल उत्सव मात्र होइन, पारिवारिक र सामाजिक सम्बन्धलाई पनि समेट्छ । तीजमा छोरी–चेली माइत जान्छन् र परिवारसँग भेटघाट हुन्छ । बुवा, दाजु–भाइले छोरी–चेलीलाई लिन जाने चलन अझै कायम छ । माइतमा छोरी चेलीलाई खुवाउने चलन अझै कायम छ ।


तीजमा विशेष गरी दिदी–बहिनीलाई आशीर्वाद दिँदै टिका लगाइन्छ र हातमा स्नेहस्वरूप दुई–चार रुपैयाँ राखिदिने परम्परा पनि छ । यसमा दाजु–भाइ, बुबा–काका, मामा र श्रीमान् सबैको सहभागिता हुन्छ । यस पर्वले दाजुभाइ–दिदीबहिनी, साथी–सङ्गिनी र जन्मभूमिसँगको गहिरो सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।


यसरी दाजुभाइ, बा–काका, मामा र श्रीमानसँगै आमा, दिदी–बहिनी र फुपूसँग बस्दा छाडा बोल्ने वा सुन्ने परम्परा नै थिएन । त्यो सोच्न पनि सकिदैन । त्यतिबेला तीज प्रायः मन्दिरमा वा गाउँको चौरमा भेला भएर गीत गाएर मनाइन्थ्यो । त्यसैले अहिले सुन्न पाइने कतिपय गीत त्यतिबेलाको परम्परा र कल्पनाभन्दा निकै बाहिरका लाग्छन् । आजझैं खुला रूपमा गीत गाउने पर्व थिएन ।


केहीले अहिले तीजलाई ‘गाईजात्रा’ बनाउन खोजिरहेको देखिन्छ । धेरैको बुझाइमा रातो लाउँदैमा र ‘बरिलै’ गाउँदैमा मात्र तीज मनाएको भन्ने बुझेका छन् । त्यसैमा सस्तो लोकप्रियताको लोभले विकृति थपिएको छ ।


यदी यही धारमा तीज मनाइयो भने आउँदो दशकमा तीजको स्वरूप कस्तो होला ? परिवारका सदस्य, छोराछोरी वा नातिनातिनालाई सुनाउन लाज लाग्ने खालका गीत आइरहेका छन् । अश्लीलता र नग्नतालाई संस्कृतिको नाममा अनुमोदन गर्ने हो भने नयाँ पुस्ताले पनि त्यही सिक्नेछ । जे गरे पनि हुन्छ भन्ने सोचले समाजलाई गलत दिशातर्फ लैजान सक्छ ।


यस्ता गीतले न त चेतना फैलाउँछन्, न त समाजलाई केही योगदान दिन्छन् । यस्तो अभ्यास संस्कृतिमाथिको निर्दयी प्रहार हो, जुन गम्भीर चिन्ताको विषय हो । त्यसैले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ । नभए नयाँ पुस्ताले गलत सन्देश पाउनेछ र यसको असरले समाज नै घातक बाटोमा जान सक्नेछ ।


यसका लागि सबै कलाकार पहिले सजग हुनुपर्छ । सस्तो लोकप्रियताको लोभ छाडेर आफ्नो मौलिकता जोगाउँदै तीजलाई तीजकै शैलीमा मनाउन जरुरी छ । तीजको सौन्दर्य नमारौँ, संस्कृतिलाई सम्भव भए जोगाऔँ–नसके पनि नबिगारौँ ।


तीजका गीत गाएपछि गर्वका साथ छाती फुलाउन सकिने खालका गीत गाउनुपर्छ । सबैले मौलिक गीतलाई खोज्नुपर्छ । तीजको मौलिक स्वरूपलाई सुरक्षित राख्दै संस्कृतिलाई आउँदाे पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । छोटो लोकप्रियताको नाममा संस्कृतिलाई बिगार्ने होइन, बरु नयाँ पुस्तालाई सही बाटो देखाउने जिम्मा सबैले लिनुपर्छ ।

हाम्रो संस्कृतिलाई जगेर्ना र संरक्षण गरौँ । 


लक्ष्मी न्यौपाने 


तीज गीत भन्नासाथ हाम्रो सम्झनामा परम्परागत नेपाली लोकगीत आउँछ । यी गीतले महिलाको भावना, समाजका अनुभव र आफ्ना भोगाइलाई अभिव्यक्त गर्छन् । तीज केवल सांस्कृतिक पर्व मात्र होइन, भावनात्मक पर्व पनि हो । यसका भाका र लय अन्य गीतभन्दा अलग हुन्छन् ।


तीजमा चेलीबेटीले सामान्यतया भन्न नसक्ने कुरा गीतमार्फत सहजै व्यक्त गर्छन्–घरका पीडा, समाजका घटना, आफ्ना अनुभव सबै गीतमा समेटिन्छन् । यसरी तीजले भातृत्व र मातृत्व दुवैलाई जोड्दै प्रेम, अपनत्व र सहभावना बढाउँछ । विशेषगरी चेली र माइतीबीचको प्रगाढ सम्बन्धलाई अझ प्रगाढ बनाउन तीज महत्तवपूर्ण भूमिका खेल्छ ।


पहिले तीज सूचनाको बाहक पनि थियो । गीत गाएर गाउँभरि खबर फैलाइन्थ्यो–कहाँ बाढी आयो, कहाँ पहिरो गयो, कहाँ चोरी भयो भन्ने कुरा तीजकै गीतमार्फत थाहा पाइन्थ्यो । त्यसैले अघिल्ला पुस्तामा घटना–प्रधान गीतलाई विशेष महत्तव दिइन्थ्यो । अहिले सञ्चारका आधुनिक साधनले त्यो भूमिका घटाए पनि घटना प्रधान गीत अझै गाइन्छन् ।


तीज चेलीहरूको प्रतिभा प्रदर्शन गर्ने माध्यम पनि हो–कसले कस्तो गीत गाउन सक्छ, कस्तो नृत्य गर्न सक्छ भन्ने परीक्षण गर्ने अवसर । यो परम्परा पुस्तौँदेखि पुस्तामा हस्तान्तरण हुँदै आएको छ । हजुरआमाले आमालाई, आमाले छोरीलाई सिकाउने र चेलीबेटीले वर्षभरि कर्मघरमा भोगेका अनुभवलाई तीजमा गीतमार्फत प्रस्तुत गर्ने चलन अझै जीवित छ । यसमा महिलाको दुःखसुख, खुशी र आशाहरू सबै व्यक्त हुन्छन् ।


तीजका गीतहरू केवल रमाइलोका लागि मात्र गाइँदैनथे, सामाजिक मुद्दा उठाउने माध्यम पनि हुन्थे । छुवाछुत, लैङ्गिक भेदभाव, घरेलु हिंसा, दाइजो प्रथा जस्ता विषय तीजका गीतमार्फत व्यक्त गरिन्थे । महिला अधिकार, महिला जागरण र महिला सशक्तीकरणका कुरा पनि गीतकै माध्यमबाट उठाइन्थे, जसले सामाजिक चेतना फैलाउने अवसर दिन्थ्यो र महिलाको आत्मबल बढाउने काम गर्थ्याे ।


धार्मिक र सांस्कृतिक विषयसँग जोडिएकाले यस्ता गीतहरूलाई विशेष महत्त्व दिइन्थ्यो । त्यसैले तीजको उल्लास त्यतिबेला अहिलेभन्दा फरक र गहिरो थियो । नाचगान र रमाइलो मात्र नभई सामाजिक सन्देश दिने माध्यम पनि तीज थियो ।


स्थानीय बाजा, भाका र भाषामा आधारित गीतहरू पनि प्रचलित थिए । यसरी स्थानीय शैलीमै प्रस्तुत गरिने गीतहरू सबैका लागि सरल, सहज र गाउन रमाइला हुन्थे । लय र शब्दमा सजिलोपन नै तीज गीतको विशेषता थियो, जसले सबैलाई गाउन र आत्मसात गर्न सहज बनाउँथ्यो । तर अहिलेको परिस्थितिमा व्यावसायिकता र बजारमुखी प्रवृत्तिले तीजका गीतमा मौलिकता हराउने खतरा बढेको छ ।


कतिपय गीतमा अश्लीलता मिसिनुले मौलिक स्वरूपमाथि प्रहार गरेको छ । यस्ता गीत क्षणिक भए पनि मौलिक गीतमाथि असर पारिरहेका छन् । तथापि, मौलिकता जोगाउँदै आएका राम्रा गीतहरू अहिले पनि आउँदैछन् ।


अश्लील तीज गीतलाई विरोध गरिए पनि, ‘के रहेछ ?’ भन्ने जिज्ञासाले धेरैले त्यस्ता गीत हेर्ने गर्छन् । कसैलाई मन नपरे पनि बजारमा आएपछि त्यसलाई बुझ्नकै लागि हेर्ने प्रवृत्ति बढ्छ । यसरी हेर्ने क्रम बढ्दै जाँदा दर्शकको सङ्ख्या धेरै देखिन्छ र यसैलाई ‘मन पराइएको’ भन्ने भ्रम पनि सिर्जना हुन्छ । तर यसैबीच मौलिक गीतहरू भने ओझेलमा परिरहेका छन्, किनकी तिनीहरूलाई पर्याप्त प्रचार–प्रसार गरिँदैन ।


तडकभडकको आकर्षणले मौलिकता ढाकिएको छ । त्यसैले सबैले मौलिक गीतलाई प्राथमिकता दिनुपर्छ । गायक–कलाकारहरूले पनि मौलिकता जोगाउने ध्यान दिनुपर्छ । समाजको पहिचान, संस्कृति र परम्परालाई समेटेर गीत सिर्जना गर्नुपर्छ । अनि मात्र संस्कार र संस्कृतिको अस्तित्व जोगाउन सकिन्छ ।


समयअनुसार परिवर्तन हुनु आवश्यक छ, तर त्यसको नाममा उच्छृंखल वा छाडा गीत गाउन मिल्दैन । आधुनिकतामा पनि पर्वको मौलिकता, सामाजिक मूल्य र सांस्कृतिक मान्यताहरू सुरक्षित राख्दै गीत सिर्जना गर्नुपर्छ ।


हामीले हजुरआमा, आमा र दिदीहरूबाट सिकेको तीजमा शिष्टता र संस्कार थियो । तर आजका कतिपय गीत सुन्नै नसक्ने छन् । यस्ता गीतले नयाँ पुस्ताले के सिक्ने ? भोलिका पुस्तालाई के हस्तान्तरण गर्ने ? भन्ने प्रश्न गम्भीर छ ।


अहिलेको समय पहिलेभन्दा फरक छ । तर अझै पनि धेरै मुद्दा छन्–घरेलु हिंसा, छाउपडी प्रथा, महिला सशक्तीकरण, महिला अधिकार, चेतना अभिव्यक्त गर्ने विषयहरू, परम्परा, विकास, राजनीति, रोजगारी, शिक्षा, संस्कार र भाषिक विविधताका कुरा । यी विषयवस्तुलाई गीतमार्फत उठाउन सकिन्छ र यसरी मात्रै तीज गीतलाई सामाजिक चेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा आउँदाे पुस्तासम्म हस्तान्तरण गर्न सकिन्छ ।


साभार : उज्यालो अनलाइन (वरिष्ठ गायिका हरिदेवी कोइराला र लक्ष्मी न्यौपानेसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्