लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाबाट बसाईंसरी जाने ५ सय ९२ जना,आउने कति ?

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाबाट मात्रै एक वर्षको अवधिमा २ सय २२ घरका ५ सय ९२ जना बसाइँ सरेका छन् । यो अवधिमा नगरपालिकामा जम्मा ८ सय ४६ घरका ३ हजार १ सय ८७ जना भित्रिएका छन् । यो तथ्यांक आर्थिक वर्ष २०८१/८२ को हो ।तिलोत्तमा नगरपालिकामा बसाईसरी आउनेको संख्या धेरै छ । यहाँको आधारभूत आवश्यकता,बिकास, हावापानी, तथा योजनाकृत नयाँ शहर निर्माणमा छिमेकी जिल्लाबाट बसाई सरि आउने बढेकोले पनि यो संख्या बढेको हो । 


गाउँका युवाहरु विदेशिनुका साथै बसाइसराइँ भएपछि गाउँ सुनसान बन्दै गएको नमिठो तथ्यांकलाई तिलोत्तमाले भने थाति राखेको छ।  तथापि यहाँबाट सरिजानेहरु पनि रहेका छन्। बसाइसराइँ गर्नेहरु गाउँको जग्गा बिक्री नगरी घरमा ताल्चा लगाएर सुगम ठाउँमा जाने गरेका छन् । यहाँ सम्पन्न र विपन्न दुवै वर्गका व्यक्तिहरु बसाइँ सरि आएको तथ्यांक छ । विपन्न वर्गका व्यक्तिहरु रोजिरोटी र सहजशिक्षाका लागि र सम्पन्न वर्गका व्यक्ति थप सुविधाका लागि बसाइँ सर्ने गरेका हुन् । 


कृषि क्षेत्रमा लगानी,गुणस्तरीय उच्च शिक्षा हासिल गर्न, स्वास्थ्य उपचारका लागि सुविधा, रोजगार, उद्योग तथा ब्यापार जस्ता सहजतालाई मध्येनजर गर्दै बसाइसराइँ गरि आउनेको संख्यामा वृद्धि भएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभएको छ। उहाँले नगरको विकाससँगै जनसंख्या टिकाउन र आकर्षण बढाउन दीर्घकालीन योजना बनाइएको बताए ।उहाँले नागरिकमैत्री सेवा प्रवाह, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजनामा जुटिरहेको बताउनुभयो। यसरी नगरक्षेत्रबाट केहि विभिन्न कारणले जस्तै सम्पत्ति बिबाद, पारिवारिक झन्झट आदि कारणले छिमेकी पालिकाहरुमा समेत बसाइ सराई गरेर जानुभएको छ, सानो संख्यामा बसाइँ सर्ने क्रम पनि छ, तथापि नगरको सामाजिक, आर्थिक र विकासका पक्षहरूमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न नगरको समग्र बिकासका लागि सबैको हातेमालो जरुरि रहेको नगरप्रमुख खाणले बताउनुभयो। 


त्यसो त तिलोत्तमाको बिकास, यहाँको शिक्षा स्वास्थ्य रोजगारको उपलब्धता मात्रै नभएर यहाँ लगानी गर्ने प्रसस्त सम्भावना, महिलाको आत्मनिर्भरतासंगै सुशासन र पारदर्शिता युक्त एकीकृत समाजका कारण बसाईंसराई आउने दरमा वृद्धि भएको उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो। तिलोत्तमाको समग्र बिकासको लागि यहाँका सबै बर्ग समुदायको उत्तिकै भूमिका रहेकोले यस भुमीलाई अझै परिष्कृत गर्न र भौतिक र मानविय बिकासको सम्बाहक बनाउन सबैको सहयोग आवश्यक रहेको उपप्रमुख चौधरीले बताउनुभयो। 


नगरमा यो पंजीकरण बर्षमा (२०८१ बैशाख देखि २०८२ बैशाखसम्म) ८ सय ६१ पुरुष र ७ सय ९४ जना महिला सहित १ हजार ६ सय ५५ जना जन्मिएका छन् भने ४ सय १३ पुरुष र ३ सय ५५ महिला सहित ७ सय ६९ जनाको मृत्यु भएको छ।त्यस्तै यो बर्ष सम्बन्ध बिच्छेद गर्नेको दर्तासंख्या १४१ रहेको छ भने बिबाह ९ सय ९२ जोडीले गरेका पंजीकरण तथा सामाजिक सुरक्षा उपशाखाका युवराज तिवारीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्