
शारदा शाही, तुल्सीपुर। तुल्सीपुर टोल विकास संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लक्ष्मण शाहीको अध्यक्षता तथा तिलोतमा वडा नम्बर ९ का अध्यक्ष धुर्व न्यौपानेको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विशिष्ट अतिथि तिलोतमा नगरपालिका सामाजिक परिचालिका अधिकृत अल्फा घिमिरे त्यस्तै अतिथिमा कार्यपालिका सदस्य तारा सुनार वडा सदस्य मिसु शाही, कमल रेग्मी, लक्ष्मण गुरुङ र सामाजिक अभियान्ता बाबुराम रेग्मी बाबा समूह अध्यक्ष शुभचन्द्र पुन, डीएमसी क्लब अध्यक्ष अनुप थापाको उपस्थिति रहेको थियो।संस्थाका अध्यक्ष लक्ष्मण शाहीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै टोल विकास संस्थाले आफ्नो कार्यकालमा गर्दै आएका गतिविधिहरू प्रस्तुत गर्नुभएको थियो। उहाँले हाल संस्थामा ६०० घरधुरीभन्दा बढी भएकोले विभाजन गर्न आवश्यक रहेको पनि बताउनुभयो। आफ्नो कार्यकालमा सहयोग गर्ने टोल विकास संस्थाका हरेक नागरिक संघसंस्था क्लब त्यसैगरी वडा कार्यालय र नगरपालिकालाई पनि धन्यवाद दिनुभएको थियो। सबैको सहयोगले नै तुल्सीपुर टोल विकास संस्थाले नगरपालिकाबाट सम्मानपत्र पाएको कुरा पनि उहाँले जानकारी गराउनुभयो।
कार्यक्रममा उपाध्यक्ष पहलसिंह रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष शकुन्तला सुनारी मगरले आर्थिक वर्ष ८०-८१ र ८१-८२ को आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष ८०-८१ मा ५४ हजार २ सय ५६ र आ व ८१-८२ मा ५१ हजार ३० रुपैयाको जिन्सी सामान खरिद गरिएको पनि मगरले जानकारी गराउनुभयो।
तिलोतमा नगरपालिका सामाजिक परिचालिका अधिकृत अल्पा घिमिरेले तिलोतमा नगरपालिका भित्र २०२ वटा टोल विकास संस्था रहेको जानकारी गराउँदै टोल विकास संस्थाहरुको योगदान तथा असल अभ्यासले गर्दा नै नगरपालिका मुलुकमा मात्रै नभई विश्वमा नै अब्बल बन्न सफल रहेको बताउनुभयो। उहाँले १५० घरधुरीदेखि ३५० सम्म एउटा टोल विकास संस्थामा रहन सक्ने बताउँदै संस्थाभित्र कम्तीमा नौ जनादेखि बढीमा १६ जनासम्म कार्यसमिति सदस्य राख्नुपर्ने पनि बताउनुभयो । घिमीरेले नगरपालिकाले टोल विकास संस्थाहरूलाई विभिन्न विधामा रकम छुट्याउदै आइरहेको पनि जानकारी दिनुभयो।
कार्यक्रममा तिलोतमा नगरपालिका वडा नम्बर-९ का अध्यक्ष धुर्व न्यौपानेले नयाँ कार्यसमिति सदस्यहरूलाई शुभकामना दिँदै आगामी दिनहरूमा पनि टोल विकास संस्थाहरूलाई वडाले आवश्यक परेमा सहयोग गरिरहने बताउनुभयो। त्यसैगरी वडा नम्बर ९ का वडा सदस्य लक्ष्मण गुरुङले युवाहरूले खेलकुदलाई पनि हरेक कार्य सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रममा ३० जना जेष्ठ नागरिकलाई खादा तथा छडि वितरण गरी सम्मान गरिएको थियो। तुलसीपुर टोल विकास संस्था २०७५ सालमा स्थापना भएको हो।
कमेन्ट गर्नुहोस्