
तिलोत्तमा । तिलोत्तमाको वडा नं. ६ को पुरानो सडकमा खुला व्यायामशाला सञ्चालनमा आएको छ । वडाबासीको स्वास्थ्यलाई ख्याल गरेर खुला व्यायामशाला सञ्चालनमा ल्याइएको वडा कार्यालयले जनाएको छ । व्यायामशालाका लागि वडा कार्यालयको सिलिङ्ग बजेटबाट भौतिक पूर्वाधार निर्माण गरिएको र संघीय स्वास्थ्य मन्त्रालयबाट आवश्यक सामग्रीहरु ल्याइएको वडाध्यक्ष गणेश पाठकले जानकारी दिनुभयो ।
वडा नं. ६ मा यसअघि तिलोत्तमा पार्कमा खुला व्यायमशाला सञ्चालनमा आइसकेको छ । वडाध्यक्ष पाठकले व्यायामशालामा बालबालिकाका लागि खेल सामग्रीहरु थप गरिनुको साथैं अन्य पूर्वाधारहरु समेत बनाइने जानकारी दिनुभयो । कतिपय ठाउँमा बनाइएका खुला व्यायमशाला संरक्षणको अभावमा बेवारिसे बनेको चर्चा गर्दै वडाध्यक्ष पाठकले पुरानो सडक खुला व्यायामशालाको यथोचित संरक्षण, मर्मत र सञ्चालनको जिम्मेवारी स्थानीय बासिन्दामा रहेको बताउनुभयो ।
शनिबार व्यायामशालाको उद्घाटन गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले स्वस्थ मानिसले मात्र परिवार, समाज र राष्ट्रका लागि योगदान दिन सक्ने भएकोले तिलोत्तमा नगरपालिकाले मानवीय विकासका कार्यक्रमलाई समेत महत्व दिएको बताउनुभयो । व्यायाम, योग, ध्यानले व्यक्तिमा शान्ति र खुशी ल्याउने नगर प्रमुख खाणको भनाइ छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रमेश डुम्रे, कार्यपालिका सदस्य नरबहादुर छन्तेल, वडा सदस्य सीता खनाल लगायतक आमा समूह, क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुले खुला व्यायामशालाको दीगो संरक्षणमा जोड दिनुभएको थियो । सो अवसरमा व्यायामशाला निर्माणमा महत्वपूर्ण योगदान गर्ने ओमप्रकाश पाण्डे र कमल प्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । शनिबार नैं वडा कार्यालयको पहलमा व्यायामशाला परिसरमा रहेको हलमा योग शिविर सुरु भएको छ ।
योग प्रशिक्षक अर्जुन ज्ञवालीले सहजीकरण गर्नुभएको शिविरमा सयौ सहभागी रहेको वडा सचिव कृष्णबहादुर क्षेत्रीले जानकारी दिनुभयो । वडा कार्यालय परिसरमा एकसाथ व्यायामशाला र योग शिविर सुरु गरेर शारीरिक र मानसिक स्वास्थ्यलाई सबैले महत्व दिनुपर्छ भन्ने सन्देश दिन खोजिएको वडा कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्