लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई करिव ६३ लाख अनुदान

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न हरेक बर्ष जस्तै यस बर्ष पनि उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको अनुदान कार्यक्रमका सभापति तथा नगर प्रमुख रामकृष्ण खाणले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैयाँको दरले अनुदान दिनेगरी बजेट विनियोजन गरेको थियो ।


नगरपालिकाले दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो । किसानले एक वर्षमा जति लिटर दूध सहकारी र दुध संकलन केन्द्र मार्फत् बिक्री गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधि जारी समेत गरेको छ । तिलोत्तमामा हाल १९ वटा दुग्ध उत्पादक सहकारीहरुले अनुदान पाएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दूध संकलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेको छ ।उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप तिलोत्तमाका सबै वडाका ६२ जना किसानलाई ६२ लाख ४९ हजार १ सय ६२ रुपैयाँ उपलब्ध गराएको छ।


विभिन्न १९ वटा सहकारीले आइतबार अनुदान रकम प्राप्त गरेका छन् । यस आर्थिक वर्षमा तिलोत्तमाका सहकारीले कुल ३१ लाख २४ हजार ५ सय ८१ लिटर दुध संकलन गरेका थिए । अघिल्लो बर्षको अनुपातमा यो बर्ष कम रहेपनी अनुदान भने यो बर्ष १ रुपैयाले बढाएको हो। तिलोत्तमामा वाषिर्क ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ ।तर घरबाटै बिक्रि गरिने दुधको तथ्यांक अनुदानमा नआउने भएकाले यो संख्या घटेको देखिन्छ। 


सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाइ विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ । यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाको विश्वास छ । ‘सहकारी संस्थाहरुको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था गरेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने, ‘अनुदानले दूध उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्ने छ ।’


केन्द्रिय दुग्ध सहकारी संघ नेपालका सदस्य हरी प्रसाद काफ्लेले गरीब किसानलाई समेत पुग्ने गरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको बताए । ‘सबै किसानको पहुँच पुग्ने गरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो थालनी गरेको छ,’यसलाई अझै बढाउदै लैजान सकियो भने किसानलाई थप प्रेरणा मिल्ने उनको भनाई छ। कार्यक्रममा बोल्दै नगर कृषि संजालका संयोजक कृष्ण पन्थीले नगरपालिकाले किसानका लागि प्रोत्साहन गर्ने योजना तथा बजेट ल्याउनु सर्हानिय कार्य भएकाले सबै किसानले नगरपालिकाले ल्याएको योजनामा सहभागी हुन र नगरपालिकाको समृद्धिमा हातेमालो गर्न आग्रह गर्नुभयो।  


नगरपालिकाले गाईभैँसी पालन गर्ने किसानलाई कृषि औजारमा अनुदान, घाँसखेती, पशुको कृत्रिम गर्भाधान,पशु खोप, दानामा अनुदान, लगायतका कार्यक्रम पनि चलाइने पशु शाखा कार्यालय तिलोत्तमाका प्रमुख राजु कुवर मगरले बताए । अहिले सोमबार देखि लम्पी स्किनको नि:शुल्क खोप लगाइदैछ। अनुदान कार्यक्रममा किसान, दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधी, कार्यपालिका सदस्य एबम सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

 

कमेन्ट गर्नुहोस्