
तिलोत्तमा। तिलोत्तमा-६ पुरानोसडक मणिग्रामचोकको माँ दुर्गा भवानी मन्दिर स्थानान्तरण गरिएको छ । पुरानो तथा धार्मिक र ऐतिहासिक माँ दुर्गा भवानी मन्दिर स्थानान्तरण गरी देवी प्रतिमाको विधिवत् प्राणप्रतिष्ठा गरेसँगै नयाँ मन्दिर सर्वसाधारणका लागि पूजाआराधना गर्न खुल्ला गरिएको हो। तत्कालिन समयमा मणिग्राम निवासी सरोजमणि आदिले साढे ५ कठ्ठा जमिन मन्दिर निर्माणलाई भनेर सुम्पिएका थिए।
मणिग्राम बुद्धपरिपथ र पुरानो सडक खण्ड अन्तरगत सडक स्तरोन्नतिका क्रममा दुर्गा मन्दिर सडक क्षेत्रमा पर्ने र वडा कार्यालय निर्माण पश्चात बाल उद्धान र पार्क निर्माण गर्न जग्गा साँघुरो भएपछी जिर्ण मन्दिरको नयाँ बनाई स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको मन्दिर समितिका अध्यक्ष चन्द्र कुमार दुबेले बताए। करिव ४ महिनाको निर्माण कार्य पश्चात मन्दिरमा रहेको देवी दुर्गाको प्रतिमा वैदिक विधिपूर्वक मंगलधुन पुजाआजा सहित डोलीमा चढाई मुर्ती समेत स्थानान्तरण गरिएको थियो।
पुरानो मन्दिरका सबै शिला देखि मुर्तिसम्म शंखघन्ट सहित ६ जना पण्डितहरुबाट प्राणप्रतिष्ठाका लागि पूजा गरी शुक्रबार पदस्थापन गरिएको मन्दिर संरक्षण तथा पूजा समितिका सदस्य हरि प्रसाद नेपालले बताए।करीब ७० लाख रुपैयाँको लागतमा निर्मित मन्दिरमा भक्तपुरको ईट्टा र आखिझ्यालामा प्रयोग हुने काठका कलात्मक ढोका राखिएको छ। बलियो भरपर्दो तथा मापदण्ड पुरा गरेर भीडभाड नगरी भक्तजनलाई पूजा गर्ने व्यवस्था गरिएको तिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले जानकारी दिए ।
मन्दिर स्थानान्तरण कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा अध्यक्ष गणेश पाठक, वडा सदस्य पूर्ण प्रसाद आचार्य संजय, गोबिन्द रिजाल, वडा सचिव कृष्ण बहादुर क्षेत्री, अन्य कर्मचारीहरु सरोकारवाला आम अस्मुहका प्रतिनिधी, मन्दिर समितिका पदाधिकारी तथा सदस्य र स्थानियाहरुको सहभागिता रहेको थियो। मन्दिरमा आज लाखबत्ती रुद्री चण्डी लाखबत्ती र साँझदेखि अखण्ड भजन कृतन हुने मन्दिर समितिले जनाएको छ।
कमेन्ट गर्नुहोस्