
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिने दलित ज्ञान उत्सव गर्ने भएको छ । नगरपालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित नयाँमिल स्थित एक होटलमा सो उत्सव गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।पालिकाभित्रको जनसंख्यामध्ये ११ प्रतिशत रहेका दलित समुदायलाई मूलधारमा ल्याउनका निम्ति 'विभेदमुक्त नगर : समानतायुक्त नगर' भन्ने मूल नारासहित, आफ्नो नीति तथा कार्यक्रममै तिलोत्तमा दलित ज्ञान उत्सव–२०८२ समावेश गरी कार्यक्रम गर्न थालिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।
उनले दलित समुदायले उपेक्षित भइयो, आत्मसम्मान भएन भनिरहँदा समतामूलक मानवीयताको सहर बनाउन यस उत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । खाँणले तिलोत्तमाभित्र रहेका दलित समुदायको हकहित र उनीहरुलाई उद्यमशिल बनाउँदै पदीय जिम्मेवारीमा, सीपमूलक र आयमूलक कार्यक्रममा अघि सार्न नगरपालिकाले कार्यक्रम गरिरहेको जनाए । सो अवसरमा पत्रकारहरु माझ बोल्दै उपप्रमुख जगेश्वरदेवी चौधरीले गत वर्षको उत्सवभन्दा केही परिस्कृत गरी यस उत्सव गर्न लागिएकाले यसले नयाँ आयाम थप्ने बताइन् ।उनले दलितहरुको हक अधिकार सुनिस्चित गर्न सबै गैर दलित समुद्याले समेत सो कार्यक्रममा सहभागिता जनाउनुपर्ने उल्लेख गरिन।उनले आगामी नीति निर्माणका लागि कार्यक्रमले राम्रो सन्देश प्रवाह गर्ने र सुझाव संकलनसमेत हुने भएकाले आफूहरुले कार्यक्रमलाई सोहीअनुसार संचालन गर्ने बताइन् ।
त्यसो त शुक्रबार देखि संचालन गर्न लागिएको उत्सवले सामाजिक अन्तरघुलनलाई प्राथमिकतामा राखी जातीय विभेद अन्त्यका लागि चेतनामूलक नतिजा दिनेमा विश्वस्त रहेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । उनले ३ वटा विषयलाई प्राथमिकतामा राखी उत्सवको आयोजना गरिएको बताए । पहिचान, पहुँच र प्रतिनिधित्वलाई ख्याल गर्दै यी विषयमा भइरहेका अवरोध हटाउने वातावरण सिर्जना गर्न कार्यक्रम प्रभावकारी हुने उनले जनाए ।
विभिन्न ११ वटा शीर्षकमा दलित समुदायकेन्द्रित विभिन्न बहस संचालन, विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत/संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव संचालन गरिने कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।यो उत्सवले दलित समुदायलाई सशक्त बनाउन र आगामी पुस्तालाई प्रेरित गर्न ठूलो योगदान पुर्याउने सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीको भनाइ छ । आइएसओ सर्टिफाइड नगरपालिकाका रूपमा चिनिएको तिलोत्तमाले यस्तो ज्ञान–केन्द्रित सामाजिक कार्यक्रम गरी समावेशी र सशक्त समाज निर्माणतर्फ नयाँ दृष्टान्त राखेको उनले जनाए ।दुई दिनसम्म चल्ने कार्यक्रमका लागि पालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै उनले कार्यक्रममा हरेक समुदायबाट प्रतिनिधित्व हुने, हरेकका धारणा प्रस्तुत हुने र गहन विषयमा छलफल गरी समतामूलक नगरपालिका निर्माणको गति अघि बढाउने बताए ।कार्यक्रममा पत्रकारका अलावा दलित संघ संस्थाका केहि प्रतिनिधिहरुको समेत सहभागिता थियो ।
कमेन्ट गर्नुहोस्