
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा छाडा रुपमा रहेका सामुदायिक कुकुरहरुको सँख्या न्युनिकरणका लागी भन्दै यो बर्ष पनि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । नगरभित्र छाडा रुपमा रहेका सामुदायिक कुकुरहरुको सङ्ख्या बढ्न नदिन र रेबिजजन्य सक्रामक रोगहरुको निदानका लागी भ्याक्सिनेसन शिविर समेत संचालन गरिएको तिलोत्तमा नगरपालिका पशु स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाको आयोजना तथा हार्ट (Himalayan Animal Rescue Trust) HART पोखराको प्राविधिक सहयोगमा पशु स्वास्थ्य शाखाले यो बर्ष भाले पोथी गरि २०० बढी कुकुरहरुको बन्ध्याकरण गर्ने जनाएको छ । र्चैत्र ८ गतेदेखि ११ गतेसम्म सन्चालन हुने शिबिर मार्फत नगरका विभिन्न भेगमा छरिएर रहेका सामुदायिक कुकुरहरुलाई नगरपालिका परिसरमा लगेर बन्ध्याकरण गरिनेछ । सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाउन शुरु गरिएको पशु शाखा कार्यालयका प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो । शिविर कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर–६ का अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य नर बहादुर छन्तेल, पशु चिकित्सक डाक्टर इन्द्रकला खत्री तथा सहयोगी सँस्था हार्टका करिव १३ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्