लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जीवन, मृत्यु र स्वार्थ : पुजन भण्डारी

IMG

जीवन, मृत्यु र स्वार्थ-यी तीन तत्व मानव अस्तित्वसँग गहिरो रूपमा जडित छन्। जीवन संघर्षको अर्को नाम हो, मृत्यु अनिवार्य सत्य हो, र स्वार्थ मानव स्वभावको एउटा अंश हो।जीवन भनेको एउटा यात्रा हो, जहाँ हरेक मानिसले सुख-दुःखको अनुभव गर्छ। जन्मदेखि मृत्युसम्म मानिसले विभिन्न सपना देख्छ, मिहिनेत गर्छ, सफलताको खोजी गर्छ र समाजमा आफ्नो पहिचान स्थापित गर्न चाहन्छ। जीवनलाई अर्थपूर्ण बनाउनका लागि मानिसले कर्म, परोपकार, र प्रेमलाई अपनाउनु आवश्यक हुन्छ। मृत्यु एक यथार्थ हो, जसलाई कसैले टार्न सक्दैन। मानिस जति नै शक्तिशाली, धनवान, वा बुद्धिमान् भए पनि अन्ततः उसले मृत्यु स्वीकार्नैपर्छ। मृत्युले हामीलाई जीवनको क्षणिकता सम्झाउँछ र साँचो मूल्य जिउँदै गर्दा गर्नुपर्ने सत्कर्ममा नै छ भन्ने पाठ दिन्छ।  स्वार्थ प्राकृतिक रूपमा मानिसमा हुन्छ। केही हदसम्म स्वार्थ आवश्यक पनि छ, किनकि यसले आत्मरक्षा, प्रगति, र आत्मनिर्भरता सिकाउँछ। तर जब स्वार्थ अति हुन्छ, तब यसले समाजमा असन्तुलन ल्याउँछ। धेरैजसो समस्या, जस्तै झगडा, युद्ध, अन्याय, भ्रष्टाचार आदिको जड नै चरम स्वार्थ हो।  


विलियम शेक्सपियरले जीवनलाई एउटा नाटकसँग तुलना गरेका छन्। उनले आफ्नो प्रसिद्ध नाटक *"As You Like It"* मा जीवनलाई सात चरणमा बाँडेका छन्, जहाँ मानिस जन्मन्छ, बाल्यकाल बिताउँछ, किशोरवयमा प्रवेश गर्छ, जवानीमा प्रेम र महत्वाकांक्षा राख्छ, वयस्क भएर जिम्मेवारी बहन गर्छ, वृद्धावस्थामा कमजोर बन्छ, र अन्ततः मृत्युको यात्रामा लाग्छ।उनको विचारमा, प्रत्येक मानिस यो संसारमा आफ्नो भूमिका निभाउन आउँछ र जब उसको भूमिका समाप्त हुन्छ, ऊ मञ्चबाट बाहिरिन्छ—जसरी नाटकमा पात्रहरू भित्रिन्छन् र बाहिरिन्छन्। यसै विचारलाई उनले *"All the world's a stage"* (सम्पूर्ण संसार एउटा मञ्च हो) भन्ने प्रसिद्ध उक्ति मार्फत व्यक्त गरेका छन्।


यस दृष्टिकोणले जीवनलाई क्षणिक, परिवर्तनशील र अदृश्य शक्तिको नियन्त्रणमा रहेको देखाउँछ। शेक्सपियरका नाटकहरूमा जीवनका यस्तै रहस्यहरू, प्रेम, धोका, महत्त्वाकांक्षा, विजय, विफलता र मृत्युको यथार्थलाई गहिरो रूपमा चित्रण गरिएको पाइन्छ।यदि संसारमा केही कुरा सत्य, निश्चित छ भने त्यो प्राणीको मृत्यू हो । जीवन निश्चित छैन तथापि मृत्यू निश्चित छ । कसैले पनि भौतिक जीवनको समयावधि यकीन गर्न सक्दैन तर मृत्यू हुन्छ भन्ने वारे भने प्रष्ट रूपमा भन्न सक्छ । कोही पनि प्राणी अमर छैनन् र मानिस त्यसको अपवाद हुन सक्ने सवाल भएन । मानिसको जन्म सँगै मृत्यू निश्चित हुन्छ । केवल तिथिमिती मात्र अनिश्चित छ । कतिपय मानिसहरू एक शताब्दिसम्म बाँचेका हुन्छन् भने कतिपय सारै कम उमेरमा नै मृत्यूवरण गरेका हुन्छन् । यसकारण कसलाई कुन बेला कसरी मृत्यूवरण गर्नुपर्ने हो त्यो पटक्कै अनिश्चित छ । संसारमा अहिलेसम्म विज्ञानले पत्ता लगाउन नसकेको विषय पनि मानिसको मृत्यको ठ्याक्कै विन्दु नै हो ।


धार्मिक विश्वास अनुसार मानिस जन्मँदै उसले आफ्नो आयु लिएर आएको हून्छ । भावीले जन्मेको छैटौँ दिनमा नै हाम्रो निधारमा हामीले जीवनमा भोग्नुपर्ने सुख, दुख देखि मृत्यूको तिथीमिति समेत लेखिदिएको हुन्छ । भावीले तोकिदिएको पलसम्ममात्र हाम्रो जीवन रहने हो भन्ने विश्वास गरिन्छ । तथापि आधुनिक अवधारणाले त्यस प्रकारको धार्मिक विश्वासलाई पूर्ण रूपमा स्वीकार गर्दैन । आजको पढेलेखेको पिँढीले पनि यसप्रकारको आलौकिक बिचारलाई मान्न तयार हुँदैनन् । आधुनिक समाजले धार्मिक विश्वासलाई केही रूपमा स्वीकार गरे पनि विज्ञानले मृत्यूलाई भाविको लेखाभन्दा तत्कालिक कारण भनी व्याख्या गर्छ ।यसप्रकारको अत्यन्तै अस्थायी जीवनमा हामी मानिसहरू किन एक अर्कामा सधैँ सौहार्दपूर्ण सम्वन्धमा रहन सक्दैनौँ ? किन द्वेष, रिसराग राख्छौँ । किन हामी अजम्बरी झैँ ठान्छौँ आँफूलाई ? किन हामी अरूको खेदो खन्छौँ । किन हामी आफूँ स्वर्ग त अरू नरकमै बसुन् भन्ने सोच्दछौँ ? किन हामी आफ्नो स्वार्थ पुरा गर्न अरूलाई प्रयोग या घात गछौँ ? स्वार्थ पूर्तिका खातिर आत्मकेन्द्रित बन्छौँ । किन पूर्वाग्रही बन्छौँ ? किन कपटी बन्छौँ ? कतिपय अवस्थामा किन हामी मानवता समेत प्रस्तुत गर्न सक्दैनौँ ? किन हामी दानवका रूपमा प्रस्तुत हुन समेत पछि पर्दैनौँ ?


जीवन छोटो छ । मृत्यू निश्चित छ भन्नेजस्ता सोचले हामी प्रगतितर्फ निराशाजनक भने हुनु भएन । तथापि स्वार्थको सिमा हुनु आवश्यक छ । मनोबैज्ञानिकहरू भन्छन् कि कुनै पनि मानिस स्वाभाविक रूपमा स्वार्थी हुन्छ । कुनै अप्रत्यासित घटना आइ पर्न गएमा प्रत्येक प्राणी पहिले आफ्नो ज्यान जोगाउनतर्फ लाग्छ अनिमात्र सम्भव भएसम्म आफूँ निकट रहेका व्यक्तिहरूलाई बचाउने प्रयत्न गर्छ । आफ्नो ज्यान नै जोखिममा राखेर कसैले पनि अरूको उद्धार गर्दैन । प्राकृतिक रूपमा मानिस स्वार्थी हुन्छ नै । जन्मपछि उ जसरी पनि पहिला आफू बाँच्न चाहन्छ । बाँच्नका लागि ऊ संघर्ष गर्छ । पहिला आफू अनि अरू भन्ने मनोविज्ञानको विकास त्यहीँबाट शुरु हुन्छ । यसबाट पनि मानिस सबैभन्दा पहिलो प्राथमिकतामा आँफूलाई राख्छ भन्ने प्रष्ट हुन्छ । आँफूलाई केन्द्रमा नराखि कोही अरूको भलाइ गर्दैैन । तथापि आफ्नो लगाएत परिवार, गाउँ, समाज र देशको समेत स्वार्थलाईजोडेर व्यक्तिले काम गरेमा सबैको भलाइ हुन्छ । आफ्नो स्वार्थ पुरा गर्ने नाममाअरूको कुभलो हुने कामतर्फ उद्धत्त हुनु भएन । आफ्नो मात्र भलो हुने काम गर्नुभएन । आफ्नो साथै अरूको समेत स्वार्थपूर्ति हुने गरी काम गर्नुप¥यो ।


वास्तवमा स्वार्थ कति उचित छ त भन्ने विषयमा आफ्ना आफ्ना तर्क छन् । एक सिमासम्म स्वार्थ आवश्यक पनि छ । सिमित स्वार्थ नभई कुनै पनि क्षेत्रको विकास सम्भव छैन । स्वार्थले गर्दा नै मानिसमा परिवर्तन, समृद्धि, विकासको भावना बिजारोपण गराउँछ । व्यक्तिको विकास, समृद्धि हुनु भनेको परोक्ष रूपमा देशकै लागि सकारात्मक कुरा हो । त्यसैले मानिसमा स्वार्थ हुनु आवश्यक छ । स्वार्थ नै भएन भने मानिसले प्रगति गर्न सक्दैन । स्वार्थले आफ्नो विकास र समृद्धि चाहन्छ जो कालान्तरमा देश र संसारकै लागि समेत समृद्धिको एक पक्ष बन्न जान्छ । त्यसैले जो कोही पनि आफ्नो स्वार्थ पुरा गर्ने सिलसिलामा समाजको स्वार्थलाई साथै लिएर अगाडि बढ्नु आवश्यक छ । आफ्नो भलाईको खातिर अरूलाई घात गर्नु जीवनको एक महान भूल र पाप समेत हो ।


अमेरिकी अभिनेता तथा विद्वान जेम्स डिनको यो भनाइ-"Dream as if you'll live forever, live as if you'll die today." उनले भनेका छन् कि सपना यति ठूलो देख्नुपर्छ, जसले तपाईंलाई निरन्तर अगाडि बढ्न प्रेरित गरोस्। जब हामी ठूला सपना देख्छौं, तब हामी आफ्नो सम्भावनालाई अधिकतम रूपमा उपयोग गर्न सक्छौं। ठूला लक्ष्य राख्नु र तिनलाई पूरा गर्न प्रयास गर्नु नै जीवनको सार्थकता हो।  उनले सुझाव दिएका छन् कि हरेक दिन अन्तिम दिन जस्तै जिउनुपर्छ। जसरी कुनै मानिसलाई थाहा हुन्छ कि ऊ आज अन्तिमपटक बाँचिरहेको छ, ऊ कुनै पछुतो नराखी, सबै ऊर्जा र उत्साहले आफ्नो जीवन बिताउनेछ। यदि हामी प्रत्येक दिनलाई अन्तिम दिन सम्झेर बाँच्न सक्यौं भने, हाम्रा निर्णयहरू अझ महत्त्वपूर्ण हुनेछन्, हामी अरूको मन नदुखाउने प्रयास गर्नेछौं, र समय खेर नफाली जीवनको हरेक क्षणको मूल्य बुझ्नेछौं।  जेम्स डिनको यो भनाइले जीवनलाई दुवै पक्षबाट बुझ्न सिकाउँछ—ठूला सपना देखेर भविष्यको निर्माण गर्नु, तर वर्तमानलाई पूर्ण रूपमा जिउनु। यदि हामीले यसलाई व्यवहारमा लागू गर्न सक्यौं भने, हाम्रो जीवन सार्थक, प्रेरणादायी, र उपलब्धिपूर्ण बन्नेछ।


निष्कर्ष 

जीवनलाई सार्थक बनाउन मृत्युको सत्यलाई बुझेर, स्वार्थलाई नियन्त्रण गरेर र परोपकार, सदाचार तथा मिहिनेतलाई अँगालेर अघि बढ्नु बुद्धिमानी हो। साँचो सफलता र आनन्द त्यही व्यक्ति पाउँछ, जसले जीवनको महत्व बुझ्छ, मृत्युको भयले राम्रो कर्म गर्न प्रेरित हुन्छ, र स्वार्थलाई त्यागेर समाजको भलाइको लागि योगदान दिन्छ।

कमेन्ट गर्नुहोस्