
तिलोत्तमा।प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सम्पूर्ण खेल लुम्बिनी प्रदेशका तीन रंगशालामा आयोजना हुने भएपछि यहाँका क्रिकेटप्रेमी उत्साही देखिएका छन् । खेल सञ्चालनका लागि रंगशालामा आवश्यक तयारी चलिरहेकाले क्रिकेटप्रेमीमा बेग्लै उत्साह थपिएको छ । आजै पहिलो खेल तिलोत्तमाको एक्स्ट्राटेकमा हुने मैदानका प्रबन्धक बिनोद कुँवरले बताएका छन्। बिहानै देखि सो खेलको तयारी सकिएको र खेल शुरु हुने उनले बताए।
रूपन्देहीका दुई र दाङको एउटा रंगशालामा प्रमुख घरेलु प्रतियोगिता फागुन २५ देखि आयोजना हुँदै छ । यसले प्रदेशलाई क्रिकेट हबमा चिनाउन मदत पुग्ने सरोकारवालाको विश्वास छ । नेपाली क्रिकेटका लागि थुप्रै खेलाडी उत्पादन गरेको भैरहवास्थित सिद्धार्थ गौतमबुद्ध क्रिकेट रंगशालामा पीएम कप तयारी अन्तिम चरणमा छ । रंगशालामा आफूहरूले खेल्न पाउने भएपछि स्थानीय क्रिकेटरहरू खुसी छन् ।
क्रिकेटर देव खनालले प्रदेशमा प्रतियोगिता आयोजना हुनुले यहाँको खेलमात्र नभई आर्थिक क्षेत्रसमेत चलायमान बनाउने बताए । क्रिकेट खेल्न रुचाउने नयाँ पुस्ताले घरेलु मैदानमा बसेर राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको प्रदर्शन हेरेर धेरै कुरा सिक्न पाउने उनको भनाइ थियो ।अर्कोतर्फ प्रतियोगिता आयोजनाका लागि काठमाडौंको विकल्प रूपन्देही बनेकामा हर्ष लागेको देवले सुनाए । ‘एउटै मैदानमा खेल्नुभन्दा फरक–फरक स्थानमा गएर प्रदर्शन गर्दा खेलाडीले त्यहाँको प्राकृतिक, भौगोलिक बनावटसँग परिचित हुने मौका पाउँछन्,’ उनले भने, ‘आफूलाई फरक दर्शकमाझ परिचित गराउने अवसर हो ।’
कमेन्ट गर्नुहोस्