
तिलोत्तमा,फागुन ५। तिलोत्तमा नगरपालिकाले बिद्यार्थी च्यालेन्ज फन्ड सुरु गरेको छ । नगरले पछिल्लो समयमा शिक्षामा विभिन्न कार्यक्रमलाई अगाडी सारेको सन्दर्भमा आईतबार एक कार्यक्रममार्फत बिद्यार्थी च्यालेन्ज फन्ड सुरु गरिएको जनाएको हो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नंबर ६ का वडा अध्यक्ष गणेश पाठकले हरेक श्रीजनशिल कार्यक्रमहरुमा तिलोत्तमाका विद्यालय र विद्यार्थीहरु अब्बल छन् भन्ने बनाउनका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पाठकले समुदायमा लगानिकर्ताहरु खोज्दै घरघर पुग्ने अवस्था आईसकेको भन्दै प्रतिष्पर्धामा जान आवश्यक रहेको औल्याउनुभयो ।
उहाँले जुनसुकै बिधामा पनि आर्थिक सम्भावना उत्तिकै रहेको उल्लेख गर्दै इमान्दार र लगनशिल भएर अगाडि बढ्न सुझाव दिनुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष तथा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले शिक्षामा वजेट थोरै भएपनि कार्यक्रमहरु प्रभावकारी बन्न सकेको दाबी गर्नुभयो । उहाँले यसअघि नगरपालिकाले गरेको एक विद्यालय एक श्रीजनशिल कार्यक्रमको प्रशंसा गर्दै यो कार्यक्रम पनि त्यसै गरी सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख आचार्यले विद्यार्थीहरुले मिहेनतका साथ नतिजा आउने गरि काम सम्पन्न गर्न सके अब छुट्याईने वजेटको आकार बढाउन दबाब सृजना हुन सक्नेमा ध्यानकेन्द्रित गराउनुभयो ।
यसैगरी तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले यो कस्तो कार्यक्रम, किन,कसका लागि कस्ता विद्यार्थी लक्षित भन्ने विषयमा सहजीकरण गर्दै यसको उद्धेश्य तिलोत्तमाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु विच स्वस्थ प्रतिष्पर्धा गराउनु रहेको बताउनुभयो । उहाँले बिद्यार्थीहरुविच हुने नबिनतम आइडियालाई प्रतिष्पर्धामा ल्याई उत्कृष्ट छुट्याउने गरी कार्यक्रमको योजना अगाडी सारिएको बताउनुभयो । बिद्यार्थीलाई जिम्मेवारी दिन सके काम गरेर देखाउन सक्नेमा सेन्चुरीले जोड दिनुभयो । कार्यक्रममा शिक्षा शाखाका कर्मचारी भुपति ज्ञवाली ,रमा आचार्य, विद्यालयका शिक्षक,विद्यार्थी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो । यसअघि विभिन्न विद्यालयबाट यो कार्यक्रमका लागि आवेदन परेको भएपनि छनोटमा ९ विद्यालयबाट प्रतिनिधित्व हुने गरी विद्याथीहरुलाई च्यालेन्ज फण्ड उपलब्ध गराईएको छ ।
कमेन्ट गर्नुहोस्