लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा एचपिभि खोप अभियान तिब्र,८ हजार भन्दा बढी किशोरी लाभान्वित हुने

IMG

तिलोत्तमा,फागुन २। तिलोत्तमा नगरपालिकामा एच पि भि खोप अभियानको उद्घाटन गरिएको छ । तिलोत्तमा १० मा अवस्थित जनहित माध्यमिक विद्यालयबाट बिहिबार खोपको उद्धघाटन गरिएको हो । तिलोत्तमाका ७० वटा विद्यालयमा यो खोप संचालन गरिएको छ ।स्वास्थ्य मन्त्रालयले १० देखि १४ वर्षसम्मका किशोरी लक्षित खोप अभियान संचालन गरेअनुरुप तिलोत्तमामा पनि कक्षा ६ देखि १० कक्षासम्मका करिव ८ हजार ६ सय ३२ किशोरी लाभान्वित हुने तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताउनुभयो ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले विश्वमा नसर्ने रोगको प्रकोपका कारण लाखौ मानिस प्रभावित भएको भन्दै रोकथामका लागि यो अभियान प्रभावकारी बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।त्यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले सरकारले निकालेको तथ्यांकअनुसार पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको उल्लेख गर्दै न्युनिकरणका लागि यो अभियान सुरु गरिएको बताउनुभयो । उहांले सबैलाई लाभ लिन आग्रह समेत गर्नुभएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चिन्तामणी ज्ञवालीले विश्वमा ५लाख ७० हजार महिला पाठेघरको मुखको क्यान्सरबाट ग्रसित भएको उल्लेख गर्दै दैनिक ४ जनाको मृत्यु हुने गरेको जानकारी गराउनुभयो ।कार्यक्रममा सेमरा बजार स्वास्थ्य चौकिका प्रमुख कमलप्रसाद पाण्डेले तिलोत्तमा नगरपालिकामा स्वास्थ्यमा सकरात्मक संकेत देखिएको दावी गर्नुभयो ।  तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका छैँठौ अधिकृत रामप्रसाद ढकालले संचालन गर्नुभएको कार्यक्रममा तिलोत्तमा वडा नम्बर १० का वडा अध्यक्ष गोपाल घिमिरे,वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठक लगायतको उपस्थिति रहको थियो । भने सेमरा बजार स्वास्थ्य चौकिका रमा पन्थ र  निर्मला पन्थीले खोप सहजीकरण गर्नुभएको हो ।    

कमेन्ट गर्नुहोस्