
तिलोत्तमा,माघ ६। मानवसेवा आश्रम लुम्बिनी प्रदेशकाे तिलाेत्तमा शाखाकाे नवनिर्मित भवनकाे औपचारिक उद्घाटन लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुहुने भएकाे छ । भाेलि साेमबारदेखि सुरू हुने महायज्ञकाे अवसर पारी तिलाेत्तमा शाखाकाे भवन बिहान ८ बजे उद्घाटन गरिने कार्यक्रम तय भएकाे आश्रमले जनाएकाे छ ।
साेमबारबाट नै आश्रमको लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि महायज्ञ आयाेजना गर्न लागिएकाे हाे । साथै नवनिर्मित भवन बनाउदा आश्रमलाई तन, मन, धनको त्रिवेणीबाट योगदान पुर्यायाउनु हुने सम्पूर्ण दाताहरूका लागि कृतज्ञ ज्ञापन गर्ने उद्देश्यले महायज्ञ आयोजन गर्न लागेको आश्रमले जनाएकाे छ ।
वि.सं २०७५ साल पुस ७ गते लुम्बिनी प्रदेशकाे रुपन्देही बुटवलमा घर भाडामा लिई मानवसेवा आश्रमकाे शाखा शुभारम्भ गर्दै आएकाेमा विगत २ वर्षदेखि तिलाेत्तमा-६ पश्चिमपहुनी (माेक्षधाम सेवा आश्रम) परिसरमा निर्माण भएकाे भवनबाट आश्रम सञ्चालनमा रहेकाे छ । तिलोत्तमा शाखाले हालसम्म १२ सय ५० जनाभन्दा बढी बेसहारा, असहाय, अपाङ्ग, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिस, अभिभावकविहीन लगायत जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । आश्रमले ३ सय १५ जनाको सुखद् पारिवारिक पुनर्मिलन गरिसकेको छ ।
देशभर सार्वजनिक स्थल तथा खुला सडकपेटीमा जीवन बिताउन बाध्य हुनुभएका बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गरि नेपालभरि २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि वि.सं २०६९ सालदेखि निरन्तर आश्रमले मानवीय सेवा प्रदान गर्दै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्