लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रवि लामीछानेलाई खुला पत्र : स्वयम्भूको दुइटा आँखाले न्याय अन्याय छुट्याएर हेर्छ।

tillotmacitynews - 2025 Jan 10 12:11 AM
IMG

माननीय रवि लामिछाने ज्यू,

सादर नमस्कार ,


म यो विरानो मुलुकमा संघर्ष गरेर बाँचेकै छु।मैले यो भन्दा अघि पनि हजुरलाई एउटा पत्र लेखेको थिएँ।आजको पत्र पुस महिनाको जाडोसँग जोडिएको कथाबाट सुरु गर्न चाहान्छु।विरबल र अकबरको कथामा एउटा गरिबको कथा रहेको छ।त्यो कथामा चिसो मौसमको बेलामा रातभरी पानीमा बस्ने प्रतियोगिता राखिएको हुन्छ।गाउँका सबै मानिसलाई भेला गराइन्छ।अनि जसले रातभरी चिसो पानीको रहमा बस्न सक्छ।उसलाई बहुमुल्य इनाम दिइने कुरा दर्साइन्छ।जसमा एउटा गरिवले पुरस्कार जित्ने आसामा रातभरी पानीमा बस्ने कसम खान्छ अनि ऊ प्रतियोगितामा भाग लिन्छ।त्यो गरिब मानिस रातभरी बिना कपडा पानीको रहमा उभिएर बस्छ।रात छिप्पिदै जान्छ।उसलाई जाडो हुन थाल्छ। अनि अचानक नजिकैको मथि डाँडाको टुप्पोमा आगो बलेको देख्छ।त्यसपछि त्यो डाँडामा बलेको आगोको राप आँफुसम्म आएको आभास गर्छ।आगोको राप नजिकै बसेर आँफैले त्यो आगो तापेको आभास गर्छ र न्यानो भएको महसुस गर्छ। चिसो पानीको रहमा उभिएर रात बिताउन सफल हुन्छ।


माननीय रवी लामिछाने ज्यू,

म पनि हाम्रो देश नेपालमा एकदिन समृद्धि आउने छ,घरका सबै सदस्य स्वदेशमा नै केही न केही सीप,इलम गरेका हुने छन।आफ्नै घरको आटो,ढिँडो खाएर जागिर,पेशा गर्न निस्कने छन र बेलुका सबै सदस्यहरु आफ्नै घरमा फर्कने छन।नेपालका सबै जनताले आनन्दको स्वास लिने छन।पारिवारिक खुसियाली एकर्कालाई बाँडेर शान्तिले जिउन पाउने दिन आउने छ। यस्तै रमाइला र आनन्दित हुने कुराहरु मनमा खेलाउँदै यो विरानो मुलुकमा दिन रात कटाएको छु।हाम्रा पढेलेखेका हरेक नेपाली छोराछोरी नेपालमा नै बस्ने छन।आफ्नो ज्ञान र अनुभवको आधारमा पेशा,जागिर,मालिक भएको कल्पना गरेको छु।म लौरो टेक्दै कौसीमा बसेर सन्तानको त्यो स्वावलम्बी पल हेरिरहेको आभास गरेको छु।स्वदेशी लगाउ,स्वदेशी खाउ,स्वदेशमै केही गर भन्ने प्रणाली सुचारु गर्ने कोहि महामानव राजनेता जन्मेला र त्यो महान परिवर्तन नेपालमा कसैले ल्याउला भन्ने आशा र भरोसामा बाँचेको छु।।यस्तै कल्पनाले मलाई नयाँ उर्जा थपेको छ।उमेर ढल्केसँगै शरीर गलेको छ।तर भावी उज्यालोको आशामा हात,घुँडा टेकेरै भए पनि यो परदेशी भूमिमा मुस्कुराउँदै उठेको छु।चलायमान भएको छु।म लगायत लाखौ हामी नेपाली यस्तै आसामा दिन कटाएका छौं।


माननीय रवि लामिछाने ज्यू,

लामो समय पश्चात् त नभनौं, केही दिनको हिरासत बसाईपछी हजुर अहिले न्याय पाएर स्वतन्त्र रुपमा बाहिर आउनु भएको छ।हिरासतको बसाइमा कति दुख भयो होला। त्यो हिरासतमा हजुरलाई दिन बिताउन कठिन भयो होला।त्यो बसाइमा हजुरको खानपिन कस्तो भयो होला।ओछ्यान कस्तो थियो होला।सुत्ने खाट थियो कि थिएन होला।सरकारी प्रहरी कर्मचारीले कस्तो बर्ताव गरे होलान भन्नेजस्ता विविध  कुराहरु मनमा खेलिरह्यो।यद्यपि अहिले हाम्रो देश नेपालमा मानवअधिकार जन्मेर पनि पाको,पुरानो भएको अवस्था  छ।लोकतन्त्रमा जनताको आवाज,

अधिकार पहिलो प्राथमिकतामा पर्दछ।ब्यक्तिको अधिकार हनन हुनुहुँदैन भन्ने चेतना अहिलेका शासकमा छ।र कानुनले पनि व्यक्तिको नैसर्गिक अधिकारलाई कोरिदिएको छ।पक्कै हजुरको हिरासत बसाइमा पनि राज्यले यस्तै उचित व्यबहार गरेको हुनुपर्छ।तसर्थ हजुरले ससम्मान हिरासतको बसाई कटाउनु भएकोमा हामि विश्वस्त छौ।यो बसाइले हजुरलाई अलग्गै अनुभव पनि जुटाएको पक्कै छ।


हुनत एउटा कथन छ नी,वास्तविक मानव जिवनको मूल्य,मान्यता के हो भन्नेकुरा झ्यालखानाको अँध्यारो कोठाको अनुभवले पनि मानिसलाई सजग,चेतनायुक्त,

मानवतावादी,बेदाग बनाउन सहयोग गर्दछ भनेर।अहिले हजुर हिरासत नै किन नहोस कालकोठरीको अनुभव भने बटुलेर निस्कनु भएको छ।यसले हजुरलाई अझै मजबुत बनाएको पक्कै छ।हजुरलाई अझै शक्तिशाली बनाएको छ।हजुरलाई अझै सजग बनाएर दुई करोड एकानब्य लाख चौंसठी हजार पाँच सय अठहत्तर जनाको जनसंख्या भएको नेपालको सामु एउटा सतिसाल जस्तै भएर उभिन सफल हुनु भएको छ।यसको लागि पनि हार्दिक बधाई छ हजुरलाई।


माननीय रबि लामिछाने ज्यू,

तर अतितको इतिहासको पानालाई कोट्याएर हेर्ने होभने अहिलेको जस्तो मानवअधिकार भएको भेटिँदैन। हाम्रो देश नेपालमा यस्तो अहिलेको जस्तो मानवअधिकार बिगतका कालखण्डमा  थिएन भनेर जान्न सकिन्छ। स्व. विश्वेश्वरप्रसाद प्रसाद कोईरालाको आत्मवृत्तान्त नामक पुस्तक छ।त्यो पुस्तकमा हिरासतको अनुभव बटुलिएको दर्दनाक कथा समेटिएको कुरा पनि पढ्न पाइन्छ।स्व.

वीपी कोइरालाको आत्मवृत्तान्त नामक पुस्तकको पानामा भएको कुरा सापटी लिएर पत्रलाई अगाडि बढाउन चाहन्छु।


माननीय रवी लामिछाने ज्यू,

स्व.विश्वेश्वरप्रसाद कोइरालालाई हाम्रो देश नेपालको राजनीतिक पार्टी नेपाली कांग्रेसले धरोहरको रुपमा लिदै आएको छ।यो सबैलाई थाहा भएको कुरा हो।तर हामी भन्छौं धरोहर नेपाली कांग्रेस पार्टीको मात्र नभएर वहाँ एक सिंगो देश नेपालको र नेपालिको धरोहर हुनुहुन्छ।आदर्श हुनुहुन्छ।किनकी वीपी कोइरालाले देशमा उत्तरदायी शासनको जग बसाल्नु भएको कुरा जगजाहेर हो भन्न सकिन्छ।ब्यक्तिको नागरिक स्वतन्त्रता भनेको के हो,वैधानिक तथा उत्तरदायी शासन भनेको के हो भन्ने कुरालाई उजागर  गर्नु भएको व्यक्तित्व  हुनुहुन्थ्यो।हरेक नेपाली नागरिकको एउटा सानो घर होस।एक हल गोरु होस।अनाज उत्पादन गर्ने जमिन होस।हरेक नेपाली सन्तानले शिक्षा आर्जन गर्न पाओस।उपचार,औसधिमुलो गर्न पाओस।सबै नागरिकको मानवअधिकार सुनिश्चित गरियोस भन्ने महामानव उनै स्व.वीपी कोइराला थिए।सायद उनैको आदर्शलाई अहिलेका राजनेताहरुले अनुसरण गरेको हुनुपर्छ।उनैको नितिलाई अवलम्बन गरेको हुनुपर्छ।त्यसैले देश समृद्धिको बाटोमा अगाडि  लम्किरहेको छ।जनताले सुखको अनुभुति गरिरहेका छन।हजुरलाई पनि सहज भएको हुनुपर्छ ।


माननीय रवी लामिछाने ज्यू ,

तर त्यस्ता महान सोच भएका व्यक्तिको बहुमुल्य  जिवनको अधिकाँश भाग झ्यालखानामा कोचेर सकाइयो।बिना कसुर वहाँलाई जेलमा राखियो।त्यतिमात्र नभएर त्योबेलाका शासकले वहाँलाइ निर्वासित जीवन समेत बिताउन बाध्य बनाए।वहाँलाई कहिले नजरबन्दमा राखियो त कहिले देशद्रोहको अभियोग समेत लगाइयो।राणा शासनमा राणाले,शाही शासनमा राजाले झ्यालखानामा थुनेर नै वहाँको किमती जिवन तहसनहस र समाप्त  बनाउन 

लागिपरेको उनैको आत्मवृत्तान्तबाट जान्न सकिन्छ।


उनलाई झ्यालखानामा धेरै दुख दिएको कुरा समेत उनको आत्मवृत्तान्तमा पढ्न पाइन्छ।सोही पुस्तक अनुसार विश्वेश्वरप्रसाद कोइरालालाई नेल, हतकडी,साथै कम्मरमा जन्जीर लगाएर झ्यालखानाको चिसो भुईँमा थुनिएको थियो।खान दिइएन,लाउन दिइएन,ओढ्ने ओछ्याउने समेत दिइएन।त्योबेलाका शासक अत्यन्तै निर्दयी थिए।त्यस्तो दुखदायी जीवन उनले झ्यालखानामा बिताएका थिए भनेर जान्न सकिन्छ।


माननीय रवी लामिछाने ज्यू,

वीपी कोइरालालाई श्री ३ मोहन सम्शेरको आदेशमा हिरासतमा ल्याइयो।जब उनलाई गोडामा फलामे नेल ठोक्न लगाईयो तब त्याहाँ त्योबेलाको शासकको कुरा सुन्दा मन चसक्क कोपेर आउँछ।वीपी कोइराला आफ्नो आत्मवृत्तातन्तमा यसो भन्नुहुन्छ।"जब मलाई हिरासतमा ल्याइयो तब श्री ३ मोहन सम्शेरको आदेशमा मलाई गोडामा फलामे नेल ठोकियो।नेल ठोक्ने बेलामा खुट्टाको तल एउटा ढुङ्गा थियो।नेल ठोक्ने मान्छेले मेरो खुट्टालाई जोगाएर नेल ठोकिरहेको थियो।हतौडाले नेल ठोक्दा हतौडा एक्कासी ढुङ्गामा बजारियो।त्योबेला त्याहाँ उभिएको हजुरियाले हतौडा हान्ने मानिसलाई रिसाउँदै यस्तो भन्यो।यसको खुट्टाको हड्डी भाँचिए त जोडिन्छ।जोड्न सकिन्छ।तर ढुङ्गा फुट्यो भने तैँले जोड्न सक्छस भनेर रिसाएको थियो।मेरो खुट्टा फुटोस।तर ढुङ्गा नफुटोस भनी मप्रती अमानवीय व्यवहार गरेको थियो।मेरो खुट्टाकोभन्दा बढी प्रवाह त्यो ढुङ्गाको थियो त्योबेलाका तानाशाहलाई।


तानाशाहहरुले पुसको कठाङ्ग्रीने जाडोमा मलाई ओढ्ने कपडा समेत दिइएको थिएन।तानाशाहहरुले मलाई जनावरलाई जस्तो व्यवहार गरेका थिए।चिसो भुईंमा इट्टाको सिरानी हालेर रात बिताएको थिए।मलाई पकाएर खाने भाँडो पनि त्योबेलाका तानाशाहले दिन मानेनन।चर्पी जाँदा प्रयोग गर्ने फोहर लोहोटा दिएर तेसैमा पकाएर खानु भनी आदेश दिएका थिए।परिवारका सदस्यलाई समेत भेट्न दिइएन।राज्य र शासनसत्ता हातमा लिन खोजेको भन्ने झुटो आरोपमा मलाई यातना दिइएको थियो।राज्यको शक्तिलाई चरम दुरुपयोग गरेर क्रुर तानाशाहले मेरो जिवनलाई समाप्त पर्न तल्लिन थिए।तर पनि म मेरो अदम्य साहसले कहिल्यै निरुत्साहित बनिन।म देश र जनताको अधिकारको लागि लड्न तम्तयार रहिरहेँ।यस्तो आङ जिरिङ हुने तानाशाहको चर्चा  उनले आत्मवृत्तान्तमा लेखेका छ्न।


माननीय रवी लामिछाने ज्यू,

दक्षिण अफ्रिकाका नेल्सन मन्डेला जनाताको समान अधिकारका लागि २७ वर्ष जेलमा बसेका थिए।त्यो जेलमा बस्दा उनलाई खुब चरम यातना दिइएको थियो।प्यास लाग्दा उनले पानीको गुहार लगाएका थिए।तर उनलाई जेलरले पानीको सट्टा मुखमा पिसाब फेरिदिएको थियो।जब उनी जेलबाट बाहिर आएर राष्ट्रपति बन्न सफल भए।तब एकदिन उनी र उनको सुरक्षागार्ड भएर कतै बाहिर जाँदै थिए।अनि रेस्टुरेन्टमा गएर खाना खान लाग्दा नजिकैको टेबुलमा अर्को एकजना ब्यक्ति  पनि बसिरहेको थियो।जब त्यो मान्छेले नेल्सन मन्डेलालाई देख्यो तब त्यो मान्छे थरथर कामेको थियो।अनि नेल्सन मन्डेलाले आफ्नो सुरक्षागार्डलाई भनेर आफ्नै टेबुलमा आएर खाना खान आग्रह गरे।नेल्सन मन्डेलाले उसलाई सम्मान गरे।प्रेम गरे।त्यो मान्छे डराईडराई खाना खाएर बाटो लाग्यो।अनि सुरक्षागार्डले नेल्सन मन्डेलालाई भन्यो।त्यो मान्छे खुब डराएको थियो हजुर।सायद ऊ बिमारी थियो।त्यसपछि नेल्सन मन्डेलाको जवाफ सुन्न लायक थियो।


नेल्सन मन्डेलाले भने त्यो बिमार हैन।मसँग डराएको थियो।जब म जेलमा थिएँ,तब यो मान्छे जेलर थियो।मैले पानी माग्दा यसले मेरो मुखमा पिसाब फेरिदिएको थियो।अहिले म राष्ट्रपति छु।मैले यसलाई बदला लिन्छु भन्ने लागेर डराएको हो।अनि उनले अन्तिम लाइन जुन भने त्यो झन माननीय छ।अनि उनले भने।म अहिले राष्ट्रको ठूलो ओहदामा छु।मैले चाहेँ भनेँ यसलाई मृत्युदण्ड पनि दिन सक्छु।तर म त्यस्तो गर्दिन।बदलाको भावनाले आफू ,समाज र सारा राष्ट्रमा अनिष्ट निम्त्याउँछ।राष्ट्रको एकतामा धमिलो बाढी आउँछ।बदलाको भावना कहिल्यै लिनु हुँदैन भन्ने उत्कृष्ट विचार व्यक्त गरेका थिए।


माननीय रबि लामिछाने ज्यू,

बदलाको भावना लिनुहुँदैन भन्ने दृष्टान्त महाभारत कथामा  भिष्मपितामहाले पनि दर्शाएका छन।शत्रुलाई बदलाको रुपमा मृत्युदण्ड दिँदा शत्रुताको मृत्यु हुँदैन।बरु यसको आयु त हरेक मृत्यु पश्चात् झन बढेर जान्छ।तसर्थ आदर्श देश निर्माण गर्न चाहने होभने शत्रुतासँग जुझ्नको लागि मित्रताको हात सदैव अगाडि बढाउनु पर्छ।मित्रता नै एक सुन्दर शान्त,प्रगतिशील र उज्ज्वल भबिस्यको आधारशीला  बन्न सक्छ।सबैलाई माफी दिएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पाइन्छ।गौतम बुद्धले पनि क्षमाको उच्च प्रयोग गरेका छन।तिरस्कार गर्ने मानिसलाई पनि स्विकार गरेर क्षमा याचना दिएको कुरा भेटिन्छ।


आदरणीय रबि लामिछाने ज्यू,

तानाशाहहरु कमजोर स्वभावका हुन्छन।यो सबैलाइ थाहा भएको कुरा हो।कमजोर भएकोले नै सत्तामा बस्नको लागि तागत कै साहरा लिएर टिक्ने गर्दछन।अनि आफ्नै जनतालाई मारेर,दमन अत्याचार गरेर,शोषण गरेर,जनतालाई अशिक्षाको भुमरीको खाइमा पारेर सत्तामा बसिरहन खोज्छन।टिकिरहन चाहन्छन।यसको ज्वलन्त उदाहरण बिदेशी तानाशाहहरुबाट जान्न सकिन्छ।सन्सारका तानाशाहहरु हिटलर,मोसोलिनी,स्टालिन,इदि आमिन,

पलपोट,सद्दाम हुसेन जस्ता तानाशाहको कुनै बेला यो धर्तिमा जन्म भएको थियो।तर त्यस्ता क्रुरहरु लामो समय टिकेनन केही समयमै विलीन भएर गए।तानाशाह एउटा निश्चित समयमा पतन भएर गए।यसबाट प्रस्टै जान्न सकिन्छकी,तानाशाहको एउटा निश्चित अवधी हुन्छ भनेर।तसर्थ यदि अहिले पनि कहिँकतै त्यस्ता क्रुर तानाशाह प्रवृत्तिका शासक उम्रेका रहेछन भने उनिहरु पनि पक्कै एकदिन छिट्टै पतन भएरै जाने छन।बिलाएरै जाने छन।इतिहासले पनि सम्झने छैन त्यस्ता क्रुर,पापीहरुलाई।जब तिनिहरुको पतन हुने छ तब एउटा सुनौलो नयाँ युगको फेरि जन्म हुने छ।शान्तिको विगुल फुकिने छ।


आदरणीय रवी लामिछाने ज्यू

जीवन आँसु र हाँसोको मिश्रण हो।फूलको कालीन मात्र हैन संघर्ष पनि हो।तर पनि हजुरको जिवनको यात्रा हेर्दा अलि बढी संघर्ष भएको होकी भन्ने देखियो।हन्डर र ठक्कर अलि बढी भएको देखियो।त्यसमा दैवको दोष थियोकी हजुरको गल्ती थियो त्यो भने समयले बताउला।यद्यपि हामी साराले हजुरको सहज जिवनको यात्राका लागि विगत लामो

समयदेखी हरेक अफ्ट्यारोमा प्रार्थना र कामना भने निरन्तर गर्दै आइरहेका छौं।सदैव शुभ होस भन्दै आइरहेका छौं।अब हाम्रो एउटै कामना छ।यदि हजुरलाई कसैले बदलाको भावना राखेको रहेछ।बदलाको भावनाले दुख दिएको रहेछ भने पनि कसैसँग सिँगौरी खेल्ने सोच हजुरमा भने नपलाओस।राजनेताहरुलाई धेरै प्रश्न अब नगरिदिनुहोस।प्रश्न नगर्नु पनि राजनीति हो।बदलाको भावना दुबै पक्षलाई घातक हुन्छ।हार नै सही तर प्रतिशोधको भावना हजुरमा न आओस।किनकी कुनैकुनै हारहरु यस्ता हुन्छन जुन जितभन्दा पनि महान हुन्छन।जसको कारण हजुरलाई साराले सम्झन लायक बनाउने छ।तोड्ने,बिगार्ने,भत्काउने,

उधार्ने,कायर हुन्छन।दमन,अत्याचार,शोषण गर्ने डरपोक हुन्छन।तसर्थ हजुरको नाम त रवि हो।रविको अर्थ सुर्य हुन्छ।यसलाई उल्टो पढ्ने होभने वीर हुन्छ।जसले जोड्न सक्छ।सपार्न सक्छ।सुधार्न सक्छ।त्यही वीर हो।जो सन्सारलाई उज्यालो दिन्छ त्यही रवि हो।


माननीय रवि लामिछाने ज्यू,

अबको राजनीतिक यात्रामा हजुरले देश र हामी जनताको लागि केही नयाँ गरेर देखाईदिनुहोस।एउटा बालक जन्मन्छ,हुर्कन्छ र ऊ स्नातकोत्तरसम्मको अध्ययन गर्छ।त्यसपछि उसले पेशा जागिरको लागि राज्यको ढोका ढकढक्याउँछ।त्याहाँ उसले कसैको आवाज सुन्दैन।अनि ऊ निरास भएर आफुले प्राप्त गरेको प्रमाणपत्रको कागजहरु सबै बाकसमा थन्क्याउँछ।अनि उच्च शिक्षाको लागि भनेर,क्यारियरको लागि भनेर बिदेश पलायन हुनपुग्छ।नेपालमा २५ वर्षको अध्ययनले नबनेको क्यारियर तुरुन्त अर्काको देशमा गएर बन्न सम्भव होला त?।ती बिदेशीहरुले हाम्रा सन्तानको क्यारियरमा ध्यान देलान त?यसमा हरेक अभिभावकले त सोच्नै पर्छ।हजुरको पनि यसमा ध्यान जाओस।


हाम्रो देश नेपालमा आजभन्दा ६ सय वर्ष पहिला विक्रम संवत् १४२० ताका मल्ल कालमा जयस्थिती मल्ल भन्ने राजाले देश नेपालमा व्यावसायिक शिक्षा चाहिन्छ भनेर तेसको सुरुवात गराएका थिए।त्यसको निरन्तरता भएको भए आज हाम्रो देश कहाँ पुग्दो हो। 


आजभन्दा झन्डै डेढ  सय वर्ष अगाडि,विक्रम संवत् १९४२ ताका राणाकालमा श्री ३ वीर समशेरले नेपालमा प्राविधिक शिक्षा चाहिन्छ भनेका थिए।र केहि मानिसलाइ जापान पठाएर प्राविधिक शिक्षाको ज्ञान नेपाल भित्र्याएका थिए।त्यसको निरन्तरता भएको भए आज हाम्रो देश कहाँ पुग्दो हो।


आजभन्दा ठिक सय वर्ष अगाडि ,विक्रम संवत् १९८१ साल ताका राणा प्रधानमन्त्री श्री ३ जुद्ध सम्शेरले औद्योगिक तथा कृषिक्रान्तिको सुरुवात गराएका थिए।उनले नेपालमा औद्योगिकिकरणको नीति लिएका थिए।उद्योग परिषदको स्थापना गरेका थिए।उनले दर्जनौं कारखाना खोलेका थिए।हजारौं लाखौं युवाले आफ्नै देशमा रोजगार पाएका थिए।उनले स्वंय आफू शासक भएर पनि उद्योगमा लगानी गरेका थिए।र सबैलाई उद्योग खोल्न र उद्योगमा लगानी गर्न आव्हान गरेका थिए।औद्योगिक कानुनको निर्माण गरेका थिए।पढेलेखेका विद्यार्थीलाई तत्काल जागिर दिने व्यवस्था मिलाएका थिए।कृषिमा पानीको व्यवस्था मिलाउन नहर खनाएका थिए।त्यसको निरन्तरता भएको भए आज हाम्रो देश कहाँ पुग्दो हो।


माननीय रवि लामिछाने ज्यू,

अब हजुरको सोच यस्तै कुरामा जाओस।फेरि प्रतिसोध साँध्नतिर नजाओस।नेपालको हरेक नागरिक काम खोज्नका लागि झोला बोकेर अर्काको देश हैन,आफ्नै देशको फरकफरक शहरमा जान पाउने दिन कसरी ल्याउने भान्नेमा हजुरको सोच जाओस।हाम्रा पढेलेखेका छोराछोरी अर्काको देशमा गएर झुकेर काम गर्नुभन्दा आफ्नै देशमा मालिक बनेर बिदेशी मानिसलाई नोकर बनाउन कसरी सक्लान भन्नेतिर हजुरको ध्यान जाओस।हाम्रा हरेक नेपाली छोराछोरी बिदेशमा गएर बिदेशीसँग झुकेर हैन,बिदेशीलाई नेपालमै बोलाएर कामदार बनाएर झुकाएर काम अह्राउन सक्ने कसरी बन्लान भन्नेतिर हजुरको ध्यान जाओस।शुभकामना छ।

हार्दिक धन्यवाद।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस।

कमेन्ट गर्नुहोस्