
तिलोत्तमा,पौष १७ गते। सन्दीप यादवको अर्धशतकसँगै वडा नम्बर १७ लाई पराजित गर्दै वडा नम्बर १३ ले तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।नवजीवन खेलमैदानमा बिहीबार भएको तिलोत्तमा नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नम्बरले तीन रनको रोमाञ्चक जित हात पारेको हो। वडा नम्बर १३ ले दिएको १२० रनको लक्ष्य पछ्याएको वडा नम्बर १७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो।
वडा नम्बर १३ लाई जित दिलाउन अभिषेक विक र कृष्ण भुसालले समान तीन विकेट लिए। उनीहरूको कसिलो बलिङसामू वडा नम्बर १७ का ब्याटर टिकेर खेल्न सकेनन। लालबहादुर मलाहले सर्वाधिक ३० रन बनाए। २४ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। शिव न्यौपाने १९, सुरज चौधरी १७, सागर चौधरी १२ र घनश्याम चौधरी ११ रनमा आउट हुँदा अन्यको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन। वडा नम्बर-१३ का लक्ष्मण कुमाल, लोकेश पाण्डे र अमन बोहराले पनि बलिङमा समान एक विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको वडा नम्बर १३ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो। वडा नम्बर १३ का सन्दीपले सर्वाधिक ५२ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका प्रहार गरे। कृष्ण भूसाल २०, श्रीधर बस्याल १७ र अमन बोहरा १३ रनमा आउट भए। वडा नम्बर १७ का सञ्जय पासवानको नाममा सर्वाधिक दुई विकेट रह्यो। फाइनल खेलको म्यान अफ द म्याच कृष्ण घोषित भए। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान वडा नम्बर १६ का विवेक अधिकारी रहे। उनले प्रतियोगिताभर १०४ रन बनाए।
सर्वाधिक ९ विकेट लिएका वडा नम्बर-६ का जय गोदार उत्कृष्ट बलर घोषित हुँदा उत्कृष्ट फिल्डर शिव न्यौपानले, उदीयमान खेलाडी सुसान्त सुवेदी र प्रतियोगिताको उत्कृष्ट खेलाडी अमन बोहरा रहे। अमनले प्रतियोगिताभर १०९ रन बनाउनुका साथै तीन विकेट लिएका थिए।विजेता वडा नम्बर-१३ ले ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र र उपविजेता वडा नम्बर-१७ ले ३० हजार रूपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट फिल्डरले समान पाँच/पांच हजार रुपैयाँ नगद सहित ट्रफी पाए।
नगरभित्र छरिएर रहेका युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्य सहित तिलोत्तमा नगरपालिकाको आयोजना तथा तिलोत्तमा क्रिकेट विकास समितिको सँयोजनमा नगरस्तरीय मेयरकप T20क्रिकेट प्रतियोगिता यहि पौष १० गतेबाट शुरु भएको थियो ।पुरस्कार बितरण समारोह तथा समापान समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडले पछिल्लो समय क्रिकेटप्रति बढिरहेको मोहमा नगरपालिका पनि सामेल भएको प्रष्ट पारे । खाडले तिलोत्तमा-६ मा रहेको नवजीवन क्लवको खेल मैदानलाई सुविधा सम्पन्न बनाउन नगरपालिकाले सहयोग गर्ने बताए ।
कमेन्ट गर्नुहोस्