लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा मदन भण्डारी गोल्डकप भलिबल सुरु

IMG

तिलोत्तमा,पौष १७ गते २०८१।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा रुपन्देहीको बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसीप २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले खेल क्षेत्रको विकास र खेलाडीहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताए ।


‘प्रदेशभित्र सबै प्रकारको खेल क्षेत्रलाई समुचित रुपमा विकास गर्न, खेलाडीहरुमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौं’मुख्यमन्त्री आचार्यले भने,‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगीताहरु सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।’खेलाडी उत्पादन गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देशको नाम चिनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीको भूमिका मत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यले स्मरण गरे । ‘मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापनादेखि हालसम्म खेलाडी उत्पादनका साथै खेल क्षेत्रको विकासमा थुप्रै उपलब्धी हासिल भएका छन्’उनले भने,‘यो उत्साहलाई कायम राख्दै थप रचनात्मक कामहरु गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’ पुस २४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिष्पर्धा गर्दैछन् ।


समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिबल एशोसिएशन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहनेछन् ।प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार र सान्त्वना पुरस्कार १ लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।

कमेन्ट गर्नुहोस्