
तिलोत्तमा,पौष १५ गते।लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने मूल नारासहित बुटवलमा जारी २४ औं औद्योगिक व्यापार मेलामा शनिबार दर्शकको थामिनसक्नु भिड देखिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही पौष ३ गतेदेखि जारी मेलामा शनिबार विदाका कारण दर्शकको घुँचो लागेको हो । मेलास्थलमा अत्याधिक भिडका कारण दर्शकले प्रवेशका लागि टिकट पाउनका लागि मात्रै घण्टौं लाइनमा बस्नु परेको छ भने भिडलाई व्यवस्थित गर्न मेलास्थलमा खटिएका निजी सुरक्षा कर्मी, नेपाल प्रहरी तथा स्वयम्सेवकलाई गाह्रो भैरहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी अर्यालले बताए । मेला अवलोकनका लागि बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशका साथ स्वयम्सेवकबाट आवश्यक सहजीकरण गरिएको उनले बताए ।
यही पौष १८ गतेसम्म सञ्चालन हुने मेलामा साँस्कृतिक कार्यक्रम अन्तरगत सोमबार पनि मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको छ । सोमबार तमु ल्होसारको सार्वजनिक बिदा पनि भएकाले मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बताए ।सोमबार मेलामा गायक अफ्सर अलीको विशेष प्रस्तुती सहित लोक तथा दोहोरी गायक खेम सेन्चुरी, दिपक गरौंजा, सीता राना, शान्तारानी परियार, मोहन खड्का, रामप्रसाद पौडेल, पुष्पा राना, कल्पना परियार, व्यूटि रसाल, प्रेम विश्वकर्मा, लोक गायक कमला लम्सालको प्रस्तुती रहेको थियो । त्यसैगरी खुल्ला लोक दोहोरी प्रतियोगिता र भ्वाईस अफ बुटवल भएको संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराए ।
भोली मंगलबार लोक तथा दोहोरी गायिका रीता थापा, खुमन अधिकारी, घनश्याम रिजाल, अर्जुन खड्का, नमराज पाण्डे, शिव खनाल, वर्षा थापा, मधु परियार, आधुनिक गायक अनिल पहाडी, डान्सर कृतना ज्ञवालीको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजुले जानकारी गराए । त्यसैगरी डान्स च्याम्स अफ बुटवल र खुला लोक तथा दोहोरी गित प्रतियोगिता हुनेछ ।
कमेन्ट गर्नुहोस्