लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पन्चैबाजा संरक्षणमा जुट्दै महिलाहरु

IMG

तिलोत्तमा सिटी,  २०८१ मंसिर १६ गते। विभिन्न मेला, पर्व, विवाह, पूजाआजामा बज्ने पन्चैबाजा पछिल्लो समय हराउँदै गएको छ  तर प्युठानका महिला पन्चैबाजा संरक्षण गर्न अग्रसर देखिएका छन् । पन्चैबाजा संरक्षणसँगै बाजा बजाउने सिप सिकेर आयआर्जनसमेत गर्न सकिने भएपछि महिला यसतर्फ आर्कषित भएका हुन् ।


मल्लरानी गाउँपालिका–२ का महिला यतिबेला पन्चैबाजाको तालिम लिन व्यस्त छन् । उनीहरूले विभिन्न बाजाका बारेमा जानकारी लिई बाजा बजाउन सिकिरहेका छन् । वडाले महिला सशक्तीकरणका लागि पन्चैबाजाको तालिम नै राखेपछि गाउँका महिला उत्साहित भएर तालिममा सहभागी भएका हुन् । १० दिने तालिममा महिलालाई बाजाका विभिन्न तालका बारेमा सिकाइएको प्रशिक्षक डिलबहादुर नेपालीले जानकारी दिनुभयो । “१५ वटा बाजाका तालबारे सिकाइरहेको छु,” उहाँले भन्नुभयो, “महिलाले ध्यान दिएर सिकिरहेका छन् ।” विशेष गरी विवाह र पूजामा प्रयोग हुने बाजाका तालबारे बढी जोड दिइएको छ । पन्चैबाजा बजाउन जाने गाउँघरदेखि सहरबजारसम्म प्रशस्त अवसर रहेको उहाँको भनाइ छ ।


जिल्लामा स्थानीय तहले पन्चैबाजा बजाउनका लागि विभिन्न समूहलाई तालिम दिने गरेका छन् । कतिपय स्थानमा महिला समूहले तालिम लिएपछि विवाह, पूजाआजालगायतका कार्यक्रममा पन्चैबाजा बजाएर आयआर्जनसमेत गर्न सकिने भएर तालिम लिन थालेको सहभागी निर्मला पौडेलले बताउनुभयो । तालिम लिएपछि गाउँमा समूह बनाएर पन्चैबाजा बजाउने पेसा सुरु गर्ने उहाँको भनाइ छ । 


स्थानीय तहले पन्चैबाजाको संरक्षण र महिलालाई सिप सिकाउन चासो देखाएका छन् । महिला सशक्तीकरणका लागि पन्चैबाजा तालिम आयोजना गरिएको मल्लरानी गाउँपालिका–२ का वडाध्यक्ष लेखबहादुर थापाले बताउनुभयो । जिल्लामा पुरानो लोकबाजा संरक्षणका लागि गरिएको प्रयास सराहनीय रहेको छ । स्थानीय तहले थालेको पन्चैबाजा संरक्षण अभियानमा महिलालाई आयआर्जनमा जोड्नसमेत टेवा पु¥याएको छ ।  

कमेन्ट गर्नुहोस्