लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मादक पदार्थ बिक्री वितरणमा रोक

IMG

तिलोत्तमा सिटी,  २०८१ मंसिर १३ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले मादक पदार्थ वितरण तथा सेवन गर्न रोक लगाएको छ । मङ्सिर १६ गते यस जिल्लाको मुसिकोट नगरपालिका–१ मा हुने उपनिर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको हो ।


उपनिर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आज (बिहीबार) देखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्नमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम उपनिर्वाचन हुने यस वडाभित्र मादक पदार्थ बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्न नपाइने भएको हो । यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । 


यहाँ वडाअध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाअध्यक्ष पदका लागि पाँच राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री उम्मेदवार हुनुहुन्छ ।


त्यस्तै, स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार हुनुहुन्छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि यस वडामा हालसम्म चार हजार ९१ मतदाता कायम भएका छन् । तीन मतदान स्थल र पाँच मतदान केन्द्र कायम गरिएको छ ।

कमेन्ट गर्नुहोस्