
कुकुर तिहार
दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।
मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।
ऋग्वेदमा कुकुर
ऋग्वेदमा स्पष्ट रूपमा 'समरा'को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्ग को प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्र साधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।
आज यिनै कुकुरहरूको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ । मानव समाज र कुकुरहरूको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका कुकुरहरूलाई पनि माला पहिराइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाइदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्त्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरूप्रति समर्पित दिन हो ।
आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
सनातन धर्म एकदमै पृथक् छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरू, प्रकृति, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।
मानव व्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो व्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप व्यवहार पाँउछाै । यस पृथ्वीका हरेक जनावरहरूलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यही ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितकी तन्त्र (Eco-System) का रूपमा हरेक प्राणीहरूको अस्तित्व एक अर्कासँग सम्बन्धित देखाएको छ ।माया दिऔँ, माया बाँडौँ अनि माया पाँऔं, सबैको मङ्गल होस्, जीव र मानव जीवनबिचको सुमधुर सम्बन्धको यो यात्रा जूगाै जुग चलिरहोस् । शुभकामना !
नरक चतुर्दशी
यस वर्षको यमपञ्चकका दिनहरू मध्य एउटा मानिने नरक चतुर्दशी मा सबैलाई स्वागत छ । मलाई यस चतुर्दशी असाध्यै दार्शनिक र तार्किक लाग्छ, आउनुहोस् सुरु गरौँ कुराहरू ।
आखिर नर्क या नरक के हो त ?
आखिर जन्म र मरण पछिका सनातन विश्वासहरूमा सदैव आउने कुरा नै स्वर्ग र नर्क त हो । राम्रो कर्म गरेमा स्वर्ग जाने र नराम्रो कर्म गर्दा नर्क जाने जनमान्यता छ । यो सनातन दर्शनमा मात्र नभई लगभग हरेक धर्म र विश्वासमा पाइने तर्क हो । नर्क कसैको रोजाई मा पर्दैन किनभने नर्कमा अनेक सास्ती र दुख्नका भोगाई रहने विश्वास गरिन्छ ।
वैतरणी नदी तरेमा मात्र स्वर्ग पुगिन्छ भन्ने मान्यता छ । नरक चतुर्दशी मात्र यस्तो तिथि हो जहिले नर्कको उपस्थिति र केही हदसम्म नर्कको महत्त्व पनि बयान गर्दछ । नर्क बिनाको स्वर्गले खासै मान्यता राख्दैन, नर्क चतुर्दशी ले यस कुरालाई सबैलाई विचारयोग्य बनाएको छ ।
नरके भनेको के हो ?
यस चतुर्दशी ले हरेक मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ । यस दिन नर्के नुहाउने चलन हुन्छ, तिलको तेल दलेर जलाशयमा नुहाउनुलाई नर्के नुहाउने भनिन्छ, कार्तिकको यस मन्द जाडोमा नुहाएपछि तिलका झिँगटाहरु बालेर ताप्ने चलन छ । आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काइ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।
स्नान गर्दा हरेक पल नर्क नजानका लागि सत्कर्म गर्ने तत्परता र धर्मको पथमा हिँड्ने वचनलाई आत्मसाथ गरिनुपर्दछ । भन्ने नै हो भनेँ नर्क र स्वर्ग पृथ्वीमा नै छ, नर्क चतुर्दशी ले सबैलाई कर्मको पथमा सत्यले डोर्याउन सकोस् ।
शुभकामना
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥
कमलमा विराजमान श्रीहृश्री जस्ता बीज मन्त्रले आशीर्वाद दिनुहुने महालक्ष्मी माताको जय, वहाँ माताको याद मात्र गर्नाले सबै प्रकारको प्रसाद र आशीर्वाद प्राप्त हुन्छ।
आजको दिनको विशिष्टता
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।
आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ । यी द्वारहरूबाट वर्षै भरि खुसी अनि उत्साहको प्रवेश होस् । ऊर्जावान् तिहारको उज्यालो शुभकामना !
सुखरात्रि
सुख रात्रि बुझ्नका लागि चार विशेष रात्रिहरू पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरूलाई महत्त्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ ।
यी चार रात्रिहरू वर्षका फरक फरक दिनमा पर्दछन् ।
चार रात्रिहरू
पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बन्धित भगवान् श्रीकृष्णको जन्माष्टमीको रात हो जसलाई मोहरात्री पनि भनिन्छ । मोह रात्रिबाट वर्षका चार विशेष रात्रिहरूको सुरुवात हुन्छ ।दोस्रो, असोज महिनामा पर्दछ । नवरात्रिको अष्टमीको रात अथवा कालरात्रि पनि भनिन्छ, यस रात्रि शक्ति र सामर्थ्यका लागि विशेष महत्त्वपूर्ण रहन्छ ।तेस्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग सम्बन्धित लक्ष्मीपूजाको रात अथवा सुख रात्रि। चौथो, फाल्गुण महिनामा पर्ने मोक्षसँग सम्बन्धित भगवान् शिवको रात अथवा शिवरात्रि । आज चाँही सुख रात्रि, यस वर्षको सुख रात्रिको सबैलाई शुभकामना छ ।
"भैलिनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँसीको बारो, गाईतिहारो भैलो...."
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'गौ माता'को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रूपमा हेर्ने गाइका हरेक कुराहरू पूजनयोग्य मानिन्छ । कुनै चोखो नितो काम गर्दा यी नै गौ माताको गौँत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परिक नेपाली माटोका घरहरू एकाबिहानै गाइको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।
आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान् पृथ्वी लोकमा आउने र आशिष् दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।
रङ्गहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वी लोकमा झरेर सबैका आँगनमा बत्तिका रुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरु झै हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलिनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस् अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।
कमेन्ट गर्नुहोस्