
तिलोत्तमा,२०८१ असोज २३ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ ले बडादशै, तिहार, छठ, २०८१ तथा नेपालसम्वत् ११४५ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक अध्यक्ष पूर्णप्रसाद आचार्य संजयले एकता र बिजयको संदेश दिने चाडहरुलाई सबै बर्गले मनाउन मिल्ने गरि मनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले सत्य र तथ्यको मात्र विश्वास गरी मनभित्रका विकार निकालेर सकारात्मक सोचले एकीकृत भएर अगाडि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो । कार्यबाहक अध्यक्ष आचार्यले विकास रफ्तारमा नहुने भन्दै एकपछि दुई, दुईपछि तीन र तीनपछि चार गेयरजस्तै विस्तारै हुने, र त्यसको लागि वडा बासीहरुले धैर्य गर्न आग्रह गर्दै बिकास निर्माणमा सबैको एकीकृत सोचको बिकास हुनुपर्ने बताउनुभयो ।अध्यक्ष गणेश पाठक आफ्ना बुवाआमाको उपचारको क्रममा रहेकाले आउन असमर्थ भएपश्चात पठाउनुभएको लिखित शुभकामना सम्प्रेषण गर्दै कार्यबाहक अध्यक्ष आचार्यले उपस्थित सबैलाई शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभयो ।
सो अवसरमा बोल्दै कार्यपालिका सदस्य नर बहादुर छंतेल्ले सबैको सहयोग र हातेमालोले वडा नम्बर-६ बिकासको चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले वडाको विकासका लागि भौतिक तथा सामाजिक बिकास अपरिहार्य भएकोले यसतर्फ सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो ।
सो अवसरमा वडा सदस्य सिता गौतम, गोबिन्द रिजाल, गीता गन्धर्व, वडा सचिव कृष्ण बहादुर क्षेत्री, टोल बिकासका प्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, बिद्यालयका प्रतिनिधी, क्लब, बाल संजाल, आमा समूह, सुरक्षा निकाय तथा सरोकारवालाहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै बक्ताहरुले चाड पर्वहरूमा सबै वडा परिवार एकजुट भएर बिकासका काममा बाधा नपुर्याई आफ्नो दक्षता र मौलिकता भित्र रही चाड मनाउनुपर्ने औल्याउँदै दशै तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण बहादुर क्षेत्रीले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्