लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

IMG

तिलोत्तमा, भदौ १७ गते २०८१। निर्देशक तथा कलाकार दिनेशराज दाहाल (डिसी) नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अबको २ वर्ष उनले बोर्ड हाँक्नेछन् । फिल्म क्षेत्रमा उनी विगत तीन दशकदेखि सक्रिय छन् ।बोर्ड अध्यक्षका लागि आवेदन दिएका ६ जनामध्ये डिसीसहित दीपा पाण्डे बस्नेत र राजेश थापाको नाम तालुकवाला निकाय सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो । सबैभन्दा अगाडि डिसीले नै आवेदन दिएका थिए । र, सुरुदेखि नै उनलाई बोर्ड अध्यक्षको बलियो दाबेदार मानिएको थियो ।


दिनेश प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीधा पहुँच राख्न सक्ने फिल्मकर्मी हुन् । यसअघि एमाले सरकारमा हुँदा पनि उनलाई बोर्ड अध्यक्ष बनाउन ओली आफैंले इच्छा देखाएका थिए । तर, त्यसबेला डिसीले इच्छा देखाएनन् । यसपटक भने एमाले सरकारमा आएलगत्तै उनले बोर्ड अध्यक्ष बन्न लबिङ सुरु गरेका थिए । र, प्रधानमन्त्री ओलीसँग उनको पटकपटक भेट भएको थियो ।एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष तथा चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष समेत रहेका डिसी टेलिभिजन र रेडियो कार्यक्रम प्रस्तोताको रुपमा पनि चर्चित छन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय यात्रा सुरु गरेका उनले ५० बढी फिल्ममा अभिनय गरिसकेका छन् ।


सन् २००६ मा आएको फिल्म ‘सावधान’बाट निर्देशन करिअर सुरु गरेका उनले त्यसपछि ‘दाईको ससुराली’, ‘मायाज् बार’, ‘६ एकान ६’ हुँदै पछिल्लो पटक ‘फूलै फूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए । २०७९ सालमा उनले आफ्नो निर्देशनमा नयाँ फिल्म ‘सर्वजीत’ बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म निर्माण हुन सकेको छैन । उनी चाँडै फिल्म ‘एक्लो’मा काम गर्दैछन् ।बोर्ड अध्यक्ष हाँक्ने जिम्मेवारी पाएसँगै डिसीसामु चुनौतीको चाङ छन् । नाम मात्रको बनेको बक्स अफिसलाई कार्यान्वयन गर्नुपर्ने, नयाँ ऐन पास गर्न पहल गर्नुपर्ने, सञ्चार मन्त्रालयको कठपुतली बनेको बोर्डलाई स्वायत्त बनाउनु पर्ने जस्ता विषय उनको कार्यकालको चुनौतीको रुपमा रहनेछ । फिल्म क्षेत्रको समस्या नजिकबाट बुझेकाले उनीप्रति फिल्मकर्मीहरुको ठूलो अपेक्षा देखिएको छ ।


कमेन्ट गर्नुहोस्