
अहिलको नेपाली समाज सामन्तवादबाट पुँजीवादमा संक्रमण हुँदै समाजवादको बहसमा केन्द्रित हुँदैछ । एरिक हब्सले ‘सामन्तवाद र पुँजीवादको संक्रमण कुनैपनि प्रकारले लामो समय रहँदैन’ भनेका थिए । यो भन्नुको अर्थ सामन्तवादी व्यवस्थाको आर्थिक संरचना र उत्पादन पद्धति समरुप हुन सक्दैन भनेको हो । यो बहस नेपाली समाजमा अति आवश्यक बनेको छ । समाजवादमा प्रवेश गर्न कृषिमा आत्मनिर्भरता अति आवश्यक हो । यसका लागि इच्छाशक्ति भए कृषिमा आत्मनिर्भरता अनिवार्य शर्त बन्न जान्छ । विश्वको जनसंख्या ७ अर्बबाट नाघ्न लागेको हुँदा हामीलाई मात्र होइन । विकसित मुलुकले पनि खाद्यान्न अभाव झेल्नुपरेको छ ।तरि विकसित र औद्योगिक मुलुकहरुले यो अभावलाई व्यवस्थित गर्ने योजना बनाइसकेको छन् भने हामीकहाँ पर्याप्त सम्भावना हुँदाहुँदै पनि ७ अर्बको आलुमात्र बाहिरबाट आयात गरेका छौं ।
हामीले समाजवादको बहस थालनी गरेका छौं तर समाजवादको मेरुदण्ड एउटा कृषि पनि हो भन्ने बारेमा ध्यान पु¥याउन सकेका छैनौं । नेपालको अहिलको खेतीयोग्य जमिन २९ लाख ६८ हजार १७ हेक्टर छ भने त्यो मध्ये तीन भागको एकभाग ९ लाख ६ सय ९ हेक्टरमा खेती नै गरेका छैनौं । हामीले कृषिमा ध्यान दिने हो भने जमिनको समस्या छैन । यहाँको बनेको क्षेत्रफल ६३ लाख ६ हजार ४ सय ६० हेक्टर छ भने चरनको क्षेत्र १७ लाख ५७ हजार ६ सय ४५ हेक्टर छ । यो सबै जमिनलाई खेतीमा उपभोग गर्ने हो भने नेपालमा श्रमशक्तिले नपुगेर विदेशबाट ल्याउनुपर्ने हुन्छ । मैले माथि उल्लेख गरेको ९ लाख ८७ हेक्टर खेतीयोग्य जमिन केही सरकारको स्वामित्वमा छ भने केही व्यक्तिका नाममा छ । त्यसलाई लिजमा दिने र प्रोत्साहन गर्ने हो भने केहीलाई रोजगारीको सृजना गर्न सकिन्छ । जमिन खाली राख्न नपाउने र जो सरकारको स्वामित्व गर्ने हो भने केहीलाई रोजगारीको सृजन ागर्न सकिन्छ । जमिन खाली राख्न नपाउने र जो सरकारको स्वामित्व छ यो दुवै क्षेत्रको नियम बनाएर राज्यले उपयुक्त कानूनको माध्यमबाट लिजमा दिने व्यवस्था हुने हो भने पनि प्रोत्साहन हुने थियो ।
कृषक र कृषि बिना संसारको कल्पना पनि गर्न सकिदैन । मानिसलाई बाँच्नका लागि खाना अनिवार्य तत्व हो । मानिसको खाना भनेको अन्न, तरकारी, फलफुल, माछामासु, दाल, तेल नै हो । यी कृषिमा आधारित वस्तुहरु हुन् । विकसित तथा विकासोन्मुख जनसङ्ख्याको ठूलो हिस्सा कृषिमा निर्भर छ भने विकसित देशमा सानो हिस्सा सम्मिलित छ । किनकी विकसित मुलुकले कृषिलाई आधुनिक र व्यवसायीकरण गरेका छन् र बढी उत्पादन गर्छन् । हाम्रो जस्तो अविकसित मुलुकमा टुक्रे उत्पादन र परम्परावादी कृषि प्रणाली छ । त्यसैले आत्मनिर्भर भन्दा परनिर्भर बन्दै गएको छ । हामीले खुर्सानी मात्र वर्षमा ३ करोडको भारतबाट आयात गर्छौ भने अरुको स्थिति के होला ? किनकी विकसित देशमा कृषिमा पढेलेखेका जनशक्ति लागेकाले कृषिलाई आधुनिक र व्यवसायीकरण गर्दै लगेको पाइन्छ ।
हाम्रो जस्तो देशमा कृषिमा लाग्ने पढेलेखेका पनि हुँदैनन् । कृषि पढेका तत्कालका विद्यार्थी विदेश जान खोज्दछन् भने पुराना कृषि विज्ञहरु माटो समाउन पनि घिन मान्छन् र सबै चिजको खेती सानो जग्गामा गर्ने परम्परावादी हुँदा गुजाराखमुखी भन्दा माथि उठ्न सकेको छैन । हामी प्राकृतिक स्रोत साधनले बलिया छौं । नेपालीहरुमा एक अर्काका सहयोगी भावना पनि छ । समाजवादमा जाने हो भने कृषिलाई मेरुदण्ड बनाएर आत्मर्भिर बन्न आवश्यक छ र सम्भावना पनि छ । पछि त कृषिलाई न्यूनिकरण गरेर औद्योगिकरण गर्दै जीडिपी बढाउनुपर्छ । कृषि सित जोडिएका केही बहसका विषय छन् त्यसको पनि हल हुन सकेको छैन । नारामा मात्र प्राकृतिक श्रोतका बलिया छौं भन्छौं तर व्यहारमा लागू गर्दनौं । व्यवहारमा लागु गर्ने हो भने बेरोजगारी कम हुने आर्थिक वृद्धि दर वृद्धि हुने थियो ।
तर, अहिलेका कृषिको सम्भावनालाई ध्यान दिने हो भने औद्योगिक विकासमा भन्दा कृषिको विकास थोरै लगानी र थोरै समयमा गर्न सकिन्छ । परम्परा ज्ञान भएकोले हामीलाई खाद्यान्न उत्पादनमा धेरै तरिकाहरु थाहा छ । त्यसमा थप्नुपर्ने भनेको नयाँ प्रविधि र बिउ बिजन मात्र हो । कृषिमा लाग्ने मानिस धेरै कम छन् । कृषि विज्ञान अध्ययन गरेकाहरु जागिर खोज्ने अथवा विदेश जाने प्रवृत्तिको विकास भएको छ । केही समस्याको रुपमा पनि देखा परेको छ । केही व्यक्तिहरुले तत्काल कृषिमा चासो लिएको देखिन्छ तर योजना नबनाइकन उत्पादन गर्दा आशा गरे जस्तो बजारभाउ पाउन मुस्किल देखिन्छ । यसका साथै राज्यले कृषकहरुका समस्या गम्भिर रुपमा नलिनु र विउको सुरक्षा र कृषि मल पर्याप्त मात्रामा उपलब्ध नुहुनु र कृषि बालीको बिमा नहुुनु पनि समस्याको रुपमा देखा परेको छ ।
हामीलाई आर्थिक रुपले सक्षम बन्नको लागि कसैले रोकेको छैन । हिजोआज राजनीतिक भाषणहरुमा फेसन नै बनेको छ, ‘राजनीतिक लडाँइ सकियो अब गर्ने समाजवाद उन्मुख आर्थिक विकास नै हो ।’ संविधानमा पनि समाजवादउन्मुख भनिएको छ । समाजवाद कस्तो हुन्छ केही आयोजनाहरु आउन सकेको छैन । जानेर होस् वा नजानेर होस् यो आर्थिक विकासको भाषण पनि औद्योगिकण सँग जोडिएको छ । तर त्यसलाई पनि सिद्धान्तसँग व्यवहारलाई जोड्न ध्यान दिन आवश्यक छ । हामीले गाउँ र शहर, तराई र पहाड, कृषि र उद्योग, साना घरेलु उद्योग र ठुला आधुनिक उद्योग बिचमा उचित सन्तुलन, समायोजन कायम गरेर आर्थिक र भौगोलिक दुवै हिसाबवले सन्तुलन गर्न जरुरी छ । यो सबै गर्नका लागि पनि कृषि अत्यन्त महत्वपूर्ण भाग बनेको छ । हो, नेपालको हकमा हेर्दा केही कठिनाइहरु छन् । किनकी छरिएर रहेका ग्रामीण बस्ति नेपालको विकासको लागि एउटा अवरोध पनि हो । जसले एकीकृत योजना बनाउन गाह्रो छ ।
कृषिबाट सफल भएका सबै मुलुकहरुले सामुहिक खेती प्रणाली अपनाएका छन् । चीन यसको गतिलो उदाहरण हो । इजरायल, जापान, युरोपका विभिन्न मुलुक, रुस, अमेरिका, थाइल्याण्ड, भियतनाम जस्ता मुलुकले सामुहिक खेती गरेर कृषिलाई विकास मात्र होइन, रोजगारीको समाधान पनि गरेका छन् । तर हाम्रो इच्छाशक्ति नभएर हामी कमजोर भएका छौं । चीन, जापान, इजरायलमा एकीकृत बस्ती योजनासँग कृषिलाई जोडिएको छ । हाम्रो देशमा यति ठूलो भुकम्प जाँदा पनि एकीकृत बस्तीको योजना बन्न सकेन । यदि एकिकृत बस्ती योजना बनाउने हो भने जनताहरुलाई बिजुली, खानेपानी, सडक, स्वास्थ्यउपचार र शिक्षालाई व्यवस्थित गर्दा कृषिपनि व्यवस्थित हुन्छ । हाम्रो देशमा कुनैपनि सरकारले त्यतापटट्ी ध्यान दिएन । केही ठुला शहर राज्यको नीति र सहयोगबाट निर्माण भएपनि छरपष्ट रुपमा सानासाना ग्रामीण क्षेत्रमा साना शहर बनेका छन् । तिनी व्यवस्थित छैनन् र तिनका वरपर केही उद्योगपनि छैन । ठुला शहरमा जनसङ्ख्याको चाप छ । गाउँ खाली छ । यो अवस्थामा कसरी समाजवाद निर्माणको दिशामा अगाडी बढ्छ ।
राज्यले वर्ग समुदायलाई खोजतलास गर्दा भूमीहिन किसान, सिमान्तकृत किसान, आम ज्यालादारी श्रमिक चरम गरिबीको रेखामूनि रहेका किसानहरुलाई बढी हेर्नुपर्छ। कसैलाई सुनको भाउ बढेकामा चिन्ता होला, कसैलाई नुन र अन्नको भाउ बढेको चिन्ता होला । चिन्ता जसको जस्तो भएपनि राज्यले हेर्ने भनेको गाउँ हो, सिमान्तकृत वर्ग के बारेमा मुख्यत ! भूमीहिन किसान र अत्यन्त थोरै जमिन भएका गरिब किसान हो । हामीले चीन कै उदाहरण हेरौं । १९४९ सम्म चीनमा कूल भूमिको ५०% भन्दा बढी मोही किसान र भूमिहीन किसान थिए । हरेक वर्ष २० लाखको वरपर भोकले मर्ने अवस्था थियो । सन् १९५० देखि १९५४ पछि सामूहिक खेतीमा परिवर्तन गरियो । त्यसले उत्पादकत्व घट्दै गयो ।
सन् १९७८ पछिको उत्पादक शक्तिको उत्साह बढाउने गरी, उत्पादन शक्तिकै जिम्मामा भूमि समेत उत्पादनका साधन पु¥याइ उत्पादकत्व बढाउने आधार निर्माण खासगरी भूमिहिन किसानको अन्तर जमिनलाई लिज सिस्टममा प्रभावकारी रुपमा संचालन गरेपछि नै उत्पादकत्व बढ्दै गयो । यसरी चीनमा आर्थिक विकासको कारण, विकासको जग तलबाट शुरु गरिएकोल नै भएको हो । तलबाट माथि जाने विकास मोडलले चीनको विकास १९७८ पछि जुरुक्कै उठ्यो । भूमिको उत्पादकत्व बढाउन, उत्पादक ग्रामीण किसानमा आत्मविश्वास जगाउने र उत्साह दिने भूमि लगायतका कृषि उद्योग, शिक्षा सबै क्षेत्रमा तलबाट माथि विकास गर्दै लाने नीति तथा कार्यक्रम लागू गरेर सिंगापुर, कोरिया, चीन, ताहवान र हङकङहरु विकास भए । हामीले समाजवादको कुरा गर्ने तल योजना नबनाउने माथि माथि कुरा गरेर कसरी समाजवादको जग बसाल्न सकिन्छ ।
अर्कोे समस्याको रुपमा देखापर्ने बजार प्रवद्र्धन पनि हो । यसका लागि आवश्यक प्रमुख तत्व भनेको सोच, ज्ञान, योजना र इच्छाशक्ति अुनसार प्रतिबद्धता नै हो । कुन उत्पादनको बजार छ हामीले त्यो वस्तुको उत्पादन गर्न सक्दछौं या सक्दैनौं जस्ता विषय पहिले निक्र्यौल गर्नुपर्छ । त्यसपछि त्यो वस्तुको उत्पादन आ–आफ्नो ज्ञान र सिप लगाउन सकिन्छ । कफि, चिया, अदुवा, अलैंची, बिउ, रेशम धागो, जडिबुटी, अर्गानिक तरकारी र हाल माछाको माग बढेकाले यिनी वस्तुहरु निर्यात गर्न सकिन्छ ।
दक्षिण एसियामा बजारको लागि उपयुक्त र संसारकै ठूलो बजार मानिन्छ । विश्वको जनसङ्ख्याको २५ प्रतिशत जनता यही क्षेत्रमा बसोबास गर्दछन् । यति ठूलो जनसङ्ख्या बसोबास गर्ने क्षेत्रमा कृषिजन्य वस्तुको अत्यधिक माग हुनु स्वभाविक हो । फेरी नेपालकै लागि अहिले खाद्यान्न सामग्री ७० प्रतिशत विदेशबाट आयात भएको अवस्थामा देश भित्रै खाद्यान्न वस्तुको खपत बढी छ ।
अहिलेको संसारमा कुनैपनि मुलुक पूर्ण रुपमा आत्मनिर्भर बन्न सक्दैनन् । जति नै सम्पन्न भएपनि सबै मुलुकले केही विषयमा अरुमा भरपर्ने गर्दछन् । रुस र बेलायतले पनि कुनैकुनै खाद्यान्न आयात गर्छन । नेपालले धेरै वस्तु आयात गरेपनि जडिबुटी, वनपैदावार, कृषिजन्य सामग्री निर्यात गर्न सक्छ । यो योजना बनाएर विशाल आकारमा उत्पादन गर्ने हो भने सम्भावना धेरै छ । दक्षिण एसियामा क्षेत्रफलको हिसाबले पनि नेपाल चौथो नम्बरमा पर्छ । यो लगभग ३ प्रतिशत छ । त्यसैले खाद्यान्नमा आत्मनिर्भरताको लक्ष्य राख्नु उपयुक्त हुन्छ । दक्षिण एसियामा तरकारीको बिउको राम्रो बजार छ । ठुला ठुला कम्पनी खोलेर बिउ मात्र उत्पादन गरेर निर्यात गर्न सकिन्छ । आधुनिक प्रविधिबाट बिउ खेती, प्रशोधन र प्याकिङ गर्ने हो भने बजारको समस्या छैन ।
फेरी माछा र दुधजन्य पदार्थका पनि दक्षिण एसियामा राम्रो बजार छ । त्यसको लागि व्यवसायिक माछापालन, गाइभैंसी पालन गर्ने हो भने पनि ठूलो मात्रामा उत्पादन गरेपनि देशभित्र खपत नभएपनि दक्षिण एसियामा यसको बजार प्रशस्त मात्रामा छ । त्यसैले आर्थिक वृद्धिदर बढाउने, खाद्यान्नमा आत्मनिर्भर हुने र रोजगारीको व्यवस्था देशभित्रै हुने हो भने समाजवादको दिशामा अगाडी बढन सकिन्छ । त्यसको लागि दृढ इच्छाशक्ति र प्रतिबद्धताको खाँचोे छ । हामीले कहाँ ध्यान दिने ? कहाँ जोड दिने भन्ने हुन्छ । हामीले कृषिमा जोड दिऔं र अन्य क्षेत्रको सम्भावनालाई पनि ध्यान दिएर अगाडी बढ्दा एउटा क्षेत्रमा हामी सफल हुन सक्दछौं ।
समाप्त
कमेन्ट गर्नुहोस्