
तिलोत्तमा,साउन २९ गते २०८१।सामान्यतः नेपाली भलिबलमा २० वर्षको उमेरमा खेलाडीहरुले आफ्नो पहिचान बनाउन सफल हुन्छन् । राष्ट्रिय टोलीमा पर्न नसके पनि घरेलुमा वा एकेडेमीमा आफूलाई निखारपन ल्याउँछन् ।
चर्चित स्पाइकर प्रतिभा मालीले १३ र उषा भण्डारीले १४ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । तर, क्विक स्पाइकर सुमित्रा रेग्मीले २१ वर्षको उमेरमा भलिबल खेल्न सुरु गरिन् । त्यसको दुई वर्षमै नेपालको राष्ट्रिय टिमबाट डेब्यु मात्रै गरिनन्, क्विक स्पाइकमा लामो समयसम्म राज गर्नसक्ने सम्भावना पनि देखाएकी छन् ।। यसैसाता सम्पन्न काभा वुमन्स नेसन्स लिगको पहिलो खेलमा श्रीलंकाविरुद्ध उनले डेब्यु गरिन् । त्यसअघि रसिया टोलीसँग दुई अभ्यास खेल खेलेकी थिइन् । अभ्यास खेलमा राम्रो प्रभाव छाडेपछि काभामा पहिलो रोजाइमा सबै खेल खेलिन् ।
क्विक स्पाइकमा न्यू डायमण्डकी ललिता नाथ र पुलिसकी कोपिला रानाले घरेलुमा राम्रो गरे पनि उचाइको कारण राष्ट्रिय टिमबाट खेल्न पाएका छैनन् । सुमित्राले सिनियर टोलीमा छिटो मौका पाउनुको मुख्य आधार नै उनको उचाइ हो ।
५ फिट ११ इन्च उचाइ भएकी सुमित्राले क्विक स्पाइक र ब्लकबाट धेरै प्रभावित पारेकी छिन् । ‘उचाइ मेरो प्लस प्वाइन्ट थियो । भलिबल सिकेको दुई वर्षमा राष्ट्रिय टिम डेब्यु गरें’, उनी भन्छिन्, ‘अब भलिबलमा नै केही गर्छु भन्ने सोच छ ।’
कुमारको प्रश्न : यतिका समयसम्म कहाँ थियौं ?
संखुवासभाको चैनपुर नगरपालिका-९ त्रिशुलेकी सुमित्रा, कुलबहादुर र रत्नकुमारीकी कान्छी छोरी हुन् । उनका दुई दिदीहरू छन् । उनले सानो उमेरमा कहिल्यै भलिबल खेलिनन् ।
२०७५ सालमा गाउँकै शारदा माध्यमिक विद्यालयबाट एसईई दिएपछि उनलाई पढ्न मन लागेन । सामान्य परिवारमा जन्मिएकी उनलाई त्यो समय जसरी पनि पैसा कमाउनुपर्छ भन्ने लाग्यो । त्यसैले एसईई दिएको एक वर्षसम्म गाउँघरमै काम गर्न थालिन् । तर, उनको पढाइलाई निरन्तरता दिन ठुली दिदी मिनाले काठमाडौं ल्याइन् । काठमाडौं आएर पनि उनले पढ्न छाडेर काम गरिन् ।
तर, काम अनुसार दाम पाइनन् । त्यसपछि भने पढ्न थालिन् । विश्व निकेतनमा कक्षा ११ भर्ना भएकी उनी बिहान कलेज जान्थिन्, दिनभर कोठामा हुन्थिन् । त्यसक्रममा चिनजानका नवीन थापा मगरले दिनभरी खाली बस्न भन्दा चन्द्रागिरि न्यू डायमण्ड एकेडेमीमा भलिबल खेल्न सुझाव दिए ।
उनलाई देखेपछि न्यू डायमण्डका प्रशिक्षक कुमार राई उचाइबाट प्रभावित बने । ‘यतिका समयसम्म कहाँ थियौं ?’ भनेर प्रश्न गरे । प्रतिभा र ललिताले पनि ‘तिमीले सक्छौं’ भनेर हौसला दिएपछि सुमित्रा भलिबल खेल्न तयार भइन् ।
त्यो समय घरेलु भलिबलमा न्यू डायमण्डको राज थियो । प्रतिभा माली, सलिना श्रेष्ठ, ललिता नाथ, झरना श्रेष्ठ लगायतका स्टार खेलाडीहरुले भरिएको न्यू डायमण्डलाई हराउन विभागीय टोलीहरुलाई निकै मुश्किल पर्दथ्यो ।
२१ वर्षको उमेर (सन् २०२२ मा) भलिबल सिक्न थालेकी उनलाई कुमार राई र सिनियर खेलाडीको साथले घरेलु प्रतियोगितामा पहिचान बनाउन खासै समय लागेन । सातौं एनभीए २०७९ मा कप्तान ललिता नाथलाई प्रतिस्थापन गर्दै सुमित्राले डेब्यू गरिन् ।
सुमित्राले एनभीए, प्रधानमन्त्री कप, टाइगर लामाचौर भलिबल प्रतियोगिता समान दुई-दुई संस्करण खेलिन् । अरु केही प्रतियोगिता पनि खेलेपछि राष्ट्रिय टिममा स्थान बनाइन् ।
न्यू डायमण्डमा भलिबल सिक्न जाँदासम्म उनले राष्ट्रिय टिममा खेल्छु भनेर कल्पना समेत गरेकी थिइनन् । ‘यत्तिकै घरमा बसिरहनुभन्दा खेल्छु भनेर गएकी थिएँ । खेल्दाखेल्दै राष्ट्रिय टिमसम्म पुगेँ,’ सुमित्राले भनिन् ।
लोभलाग्दो डेब्यु
सुमित्राले राष्ट्रिय टिमबाट डेब्यु गरेको खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो । ‘राष्ट्रिय टिममा डेब्यु गर्दा खुसी थिएँ । त्यसपछि मैले केही गर्नुपर्छ भन्ने भयो’, सुमित्राले डेब्यू क्षण सम्झिइन्, ‘पहिला क्लबबाट खेल्थेँ, अहिले देशको प्रतिनिधित्व गरेर खेलिरहेकी छु ।’
दोस्रो खेलमा भारतलाई ३-२ ले हराएको थियो । नेपालको भलिबल इतिहासमा भारतमाथि त्यो पहिलो जित थियो । ‘भारतलाई हराउँदा सबै जना यतिधेरै खुसी थियौं कि वर्णन गर्न सकिँदैन । त्यो बेला आफूलाई निकै गौरवान्वित महसुस भएको थियो,’ समित्रा भन्छिन् ।
तर फाइनलमा भारतसँग ३-२ ले हार्दा त्यति नै नराम्रो लागेको सुमित्रा बताउँछिन् । ‘भारतविरुद्ध फाइनलमा पहिलो र दोस्रो सेट राम्रै भएको थियो । तर त्यसपछि हाम्रो टिम सन्तुलन मिलेन जस्तो लाग्यो । म पनि अलिकति नर्भस भएँ’, उनले भनिन् ।
पहिलो पटक घरेलु समर्थक अगाडि फाइनल खेलेकी उनी केही दबाबमा थिइन् । त्यसैले सर्भिसमा गल्ती पनि गरिन् । यो गल्तीबाट सिक्दै राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित राख्न अझै मिहिनेत गर्नुपर्छ भन्ने शिक्षा उनले लिएकी छन् ।
‘धेरै राम्रा-राम्रा जुनियर खेलाडीहरु छन् । त्यसैले नियमित खेल्न यति मिहिनेतले पुग्दैन । अझै धेरै मिहिनेत गनुपर्छ’, उनले भनिन्, ‘मसँग अनुभवको कमी छ । मैत्रीपूर्ण खेलहरु भयो भने अनुभव र आत्मविश्वास दुवै बढ्छ ।’
विभाग छाडेर न्यु डायमण्ड रोजेकी सुमित्रा
न्यू डायमण्ड एकेडेमीमा सिक्न जानुअघि उनले नेपाल पुलिसको जवानमा नाम निकालेकी थिइन्, तर गइनन् । भलिबलका घरेलु प्रतिगोगिताहरुमा राम्रो गर्न थालेपछि विभागीय टोलीबाट प्रस्तावहरु पनि आए । तर, न्यू डायमण्डको मायाले जित्यो ।
उनले आफ्नो करिअरमा न्यू डायमण्डबाट मात्रै घरेलु खेल्ने निर्णय नै लिएकी छिन् । प्रशिक्षक कुमार राईले पनि उनलाई आफ्नो ‘ड्रिम प्लेयर’ बनाउने सपना देखेका छन् ।
प्रशिक्षक राई भन्छन्, ‘मैले सुमित्रालाई पाँच वर्षको लक्ष्य लिएको छु । दुई वर्ष गयो । अबको तीन वर्षमा उनीलाई ड्रिम प्लेअर बनाउने लक्ष्य छ ।’यसअघि प्रशिक्षक राईले यस्तो सपना रमिला तण्डुकारमा देखेका थिए । तर, भलिबलमा भविष्य नभएको भन्दै उनी खेल छाडेर विदेश गइन् ।
त्यसपछि राईले स्पाइकर प्रतिभा मालीलाई ‘ड्रिम प्लेअर’ बनाउने लक्ष्य राखे । आफ्नो समयको उत्कृष्ट स्पाइक बनेकी मालीलाई चोटले सताएको छ । सन् २०२० मा खुट्टामा चोटका कारण नियमित खेल्न संघर्ष गरेकी छिन् ।
फेन्चाइजमा सरप्राइज अवसर
नेपाललाई पहिलो पटक हुन लागेको एभरेष्ट वुमन्स भलिबल लिगमा कर्णाली टिमले मार्की प्लेयरको रुपमा सुमित्रालाई अनुबन्ध गरेको छ ।
यो उनको लागि सरप्राइज अवसर थियो । उनी आफैंले पनि मार्की प्लेयर सोचेकी थिइनन् ।
हाल बीबीएस प्रथम वर्षमा अध्ययनरत सुमित्राले फ्रेन्चाइज लिगलाई पैसा कमाउने माध्यमसँगै विदेशी खेलाडीसँग सिक्ने अवसर मानेकी छन् ।
उनका अनसार परिवारका सदस्य पनि भलिबलमा लागेर जति नाम कमाएकी छन्, त्यसमै खुसी छन् ।
कमेन्ट गर्नुहोस्