लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘छक्का पञ्जा ५’मा आर्यन सिग्देल

IMG

तिलोत्तमा, साउन १३ गते २०८१।यो वर्षको ‘स्योर सट’ सुपरहिट फिल्म हो, ‘छक्का पञ्जा ५’ । दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको छायांकन पनि पूरा भइसकेको छ । तर, अहिलेसम्म कलाकारमा तीनजनाको मात्र नाम बाहिर आएको छ । दीपकराज गिरी, वर्षा सिवाकोटी र केदार घिमिरेबाहेक अरुको नाम गोप्य नै राखिएको छ । तर, फिल्म क्षेत्रमा कुनै कुरा गोप्य रहन सक्दैन ।


‘छक्का पञ्जा ५’मा विशेष भूमिका निभाएका एक अभिनेताको नाम प्राप्त भएको छ । तिनी हुन्, आर्यन सिग्देल । फिल्ममा उनको केमियो भूमिका मात्र रहेको निकट स्रोतले जनाएको छ । ‘छक्का पञ्जा’मा जस्तै निर्माण टिमले उनको नाम फिल्म प्रदर्शनमा नआउँदासम्म गोप्य राख्न खोजेको थियो । टिमभित्रका कुनै पनि सदस्यलाई यसको खुलासा गर्न अनुमति दिइएको छैन ।


आर्यनको बारेमा सोध्दा फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले नकार्न सकेनन् । बरु उनले समाचारका लागि रिलिजसम्म कुरिदिन आग्रह गरे । ‘छक्का पञ्जा ५’मा ४/५ जना ‘स्टार’ कलाकारको अभिनय रहेको समेत दीपकले खुलासा गरेका छन् । तर, त्यो फिल्म रिलिजपछि मात्रै थाहा हुने उनले बताए । यसमा ‘प्रेमगञ्ज’का अभिनेता तेज गिरीको पनि अभिनय छ ।


फिल्ममा कुनै ‘स्टार’ कलाकारको विशेष भूमिका छ भने त्यसलाई रिलिजसम्म लुकाउने विश्वव्यापी ट्रेन्ड छ । यो जुक्तिले व्यापारमा समेत ठूलो फाइदा पुग्छ । बलिउडमा ‘पठान’ यसको उदाहरण हो । ‘छक्का पञ्जा’ समूहले पनि दर्शकलाई ‘सरप्राइज’ दिन यो ट्रेन्ड पछ्याउँदै आइरहेको छ । तर, यसपटक सफल हुन सकेन । यद्यपि, अझै केही कलाकारको नाम निर्माण टिमले गोप्य राखेको छ ।

कमेन्ट गर्नुहोस्