लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक नेपालीको थाप्लोमा साढे ८३ हजार ऋण,सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब

IMG

साउन ५, २०८१ शनिबार,तिलोत्तमा। नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।


आर्थिक वर्ष २०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँले बढ्न पुगेको छ । यस्तो ऋण दायित्व नागरिकले प्रत्यक्ष तिर्नु नपरे पनि नागरिकबाट उठाएको करबाटै भुक्तानी गरिने भएका कारण प्रतिव्यक्ति ऋण दायित्वलाई महत्त्वका साथ हेर्ने गरिन्छ । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।यसबीचमा सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ । यस प्रकार एक वर्षको अवधिमा १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थप भएको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव डिलाराम गिरीका अनुसार अघिल्लो वर्ष २०७९/८० को तुलनामा यस वर्ष सार्वजनिक ऋणको वृद्धिदरमा केही ब्रेक लागेको छ । यसो हुनुमा आन्तरिक ऋण परिचालनको लक्ष्य सानो हुनु र लक्ष्य अनुसार परिचालन नगर्नु एक कारण हो ।



वाह्य ऋण भने सरकारले लक्ष्यको तुलनामा निकै कम मात्र प्राप्त गर्न सकेको छ । यसबाट वाह्य ऋणको भरमा अविश्वसनीय बजेट बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई पुनः एक पटक दोहोर्‍याएको उनी बताउँछन् ।अर्कोतर्फ राजस्व संकलन नबढाउने हो भने आन्तरिक ऋण लिने र ऋण तिर्नकै लागि खर्च गर्नुपर्ने बाध्यता रहिरहने उनको भनाइ छ । राज्यले आन्तरिक ऋणको तुलनामा राजस्व वृद्धिमा बढी ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ ।


कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशत नजिक सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४३ प्रतिशत हाराहारी रहेको कार्यालयको तथ्यांक छ । आव २०८०/८१ सम्मको सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत हो । यसमा पनि आन्तरिक ऋणको हिस्सा जीडीपीको २०.७० प्रतिशत र वाह्य ऋणको हिस्सा २१.९५ प्रतिशत देखिन्छ ।कुल गार्हस्थ उत्पादनमा सार्वजनिक ऋणको अनुपात पछिल्लो १० वर्षमा उतारचढावपूर्ण हुँदै आएको छ । आव २०७०/७१ मा जीडीपीको २८.५१ प्रतिशत रहेकोमा आव २०७५/७६ मा ३०.२५ प्रतिशत पुगेको थियो । अघिल्लो वर्ष जीडीपीको ४२.७ प्रतिशत रहेको सार्वजनिक ऋण यस वर्ष केही थामिएको देखिन्छ । कार्यालयका अनुसार पछिल्लो १० वर्षमा सार्वजनिक ऋण ह्वात्तै बढेको छ । यसो हुनुमा २०७२ सालमा गएको भूकम्पको पुनर्निर्माणमा ठूलो स्रोत ऋणमा भर पर्नु, कोभिड महामारी र संघीयता कार्यान्वयनमा खर्च बढ्दा ऋणमा अधिक भर पर्नु परेको देखिन्छ ।


कुल गार्हस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण

आन्तरिक ऋण : २०.७० प्रतिशत

वाह्य ऋण : २१.९५ प्रतिशत

कुल : ४२.६५ प्रतिशत

हचुवाको भरमा बनाइन्छ बजेट ?


वाह्य ऋण प्राप्तिमा सरकारले राख्ने लक्ष्य र प्राप्तिको आंकडा हेर्दा बजेट धेरै हदसम्म हचुवाको भरमा बनाइन्छ भन्ने पुष्टि हुन्छ । आव २०८०/८१ मा सरकारले ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालनको लक्ष्य राखेको थियो । असार मसान्तसम्म ३ खर्ब ५८ अर्ब २ करोड रुपैयाँ मात्र ऋण उठेको छ । यो कुल वार्षिक लक्ष्यको ७९.०८ प्रतिशत मात्र उपलब्धि हो ।सरकारले राखेको लक्ष्यमध्ये आन्तरिक ऋण प्राप्ति लक्ष्यको नजिक छ भने वाह्य ऋण भने धेरै टाढा देखिन्छ । सरकारले यस वर्ष २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य राखेको थियो । प्राप्ति २ खर्ब ३४ अर्ब ४२ करोड रुपैयाँ भएको छ । यो  ९७.६८ प्रतिशत उपलब्धि हो ।वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ उठाउने लक्ष्य थियो । प्राप्ति १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ५८.१० प्रतिशत मात्र प्राप्ति हो । कार्यालयका उपसचिव गिरी लक्ष्य अनुसार वाह्य ऋण प्राप्त नहुँदा विनियोजनका बेला अवास्तविक बजेट बनाइन्छ भन्ने कुरा पुष्टि हुने बताउँछन् । ‘लक्ष्य र प्राप्तिका बीचमा ठूलो खाडल देखियो, उनी भन्छन्, ‘यसले विनियोजनमै प्रश्न उठ्छ ।’


ऋण तिर्न खर्च भयो ३ खर्ब ५ अर्ब

सरकारले एक वर्षको अवधिमा सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा ३ खर्ब ५ अर्ब रुपैयाँ ७१ लाख खर्च गरेको छ । यस आवमा सावाँ ब्याज भुक्तानीमा ३ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । असारसम्म लक्ष्यको ९२.५४ प्रतिशत खर्च भएको छ । एक वर्षमा कुल गार्हस्थ उत्पादनको ५.३५ प्रतिशत रकम ऋण तिर्न खर्च भइरहेको तथ्यांकमा देखिन्छ ।एक वर्षको अवधिमा सरकारले आन्तरिक ऋणको सावाँ भुक्तानीमा १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेको छ । आन्तरिक ऋणको ब्याज भुक्तानीमा ४९ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । वाह्य ऋणको सावाँ भुक्तानीमा ४० अर्ब ७२ करोड र ब्याज भुक्तानीमा ९ अर्ब २६ करोड रुपैयाँ खर्च भएको देखिएको छ । यस प्रकार एक वर्षमा कुल सावाँ भुक्तानी २ खर्ब २३ अर्ब र ब्याज भुक्तानी ८२ अर्ब ३ करोड रुपैयाँ बराबर भएको छ ।



साभार अनलाईन खबर 

कमेन्ट गर्नुहोस्