
तिलोत्तमा,२०८१ बैशाख २८ गते।आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । ब्राह्मण समाज नेपाल तिलोत्तमा-२ ले अक्षय तृतीया तिथी एबम परशुराम जयन्तिको अवसरमा तिलोत्तमाको सिद्धेश्वर महादेव तथा राधाकृष्ण मन्दिर परिसरमा एक बृहत कार्यक्रमको आयोजना गर्दै सर्वसाधारणलाई सातु र सर्बत खुवाएको छ । सो मन्दिर परिसरमा स्टल राखेर ब्राह्मण समाज नेपाल तिलोत्तमा-२ ले बटुवाहरुलाई सातु र सर्बत खुवाएको हो ।
बिहानैदेखि ब्राह्मण समाज नेपाल तिलोत्तमा-२ का पदाधिकारी र सदस्यहरुले सडकमा हिँड्ने बटुवाहरुलाई सातु र सर्वत वितरण गरिएको समाजका अध्यक्ष लोकनाथ पाण्डेले बताए । सडकमा हिँडेका ५ सय बढी बटुवालाई सातु र सर्वत वितरण गरिएको उनले बताए । नेपाली संस्कृतिको जगेर्ना गर्न र धर्मको रक्षा गर्दै परम्परा जोगाउन सातु र सर्वत वितरण गरिएको उनले बताए ।सो कार्यक्रमको सन्दर्भमा समाजमा आजीवन सदस्य रहेका सबैलाई रामनामी च्यादर ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो।
जौँको सातु र सर्वत :यसको गरिमा
हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइन्छ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा अक्षय शुभ फल मिल्ने धार्मिक विश्वास छ । आजकै दिन दिन शिवपार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।
वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृ तर्पण गरिन्छ ।
दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ ।
कमेन्ट गर्नुहोस्