
तिलोत्तमा,२०८१ बैशाख २० गते। एक पछि अर्को मन छुने शर्ट फिल्म बनाउन माहिर रामजी ज्ञवाली यतिबेला फेरी चर्चामा छन्। उनको पछिल्लो डकुमेन्ट्री सर्ट फिल्म 'रित्तो गाउँ' को काठमाडौंमा विशेष प्रदर्शन गरिएपछि उनको चर्चा अझै चुलिएको हो। गत शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रह्यो। फिल्म हेरेपछि सबैले उत्कृस्ट प्रतिक्रिया पनि दिए। फिल्मका कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतसहित निर्माण टिमका सदस्यहरू विशेष प्रदर्शनमा उपस्थित रहेका थिए भने दर्शकहरुले कलाकारहरुलाई अभिनयको तारिफ गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।
संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार 'रित्तो गाउँ' ले हाल देशको परिश्थितिलाई टपक्क टिपेर युवा पलायनले रित्तिंदै गएको गाउँको कथा प्रस्तुत गरेको छ। यसअघि आधा दर्जन बढी सर्ट फिल्म केही म्युजिक भिडियो निर्माण गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर डकुमेन्ट्री सर्ट फिल्म 'रित्तो गाउँ' निर्माण गरिएको बताए। काठमान्डौमा रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा विशेष प्रदर्शन गरिएको थियो। निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन सुरूआत गरिएको बताए। उनका अनुसार अब देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’ प्रदर्शन गर्ने तयारी छ।
बुटवल, हेटौंडामा छिट्टै विशेष प्रदर्शन गर्ने तयारी रहेको बताउँदै ज्ञवालीले जापान, हङकङ र अमेरिकामा पनि फिल्मको प्रदर्शन तय भएको जानकारी दिए। आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन्। कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन्।निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन्। फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनर भरत कंडेल हुन्। फिल्मले समाजको यथार्थ कथा बोलेको हुँदा युट्युबमा कहिले आउछ भनेर दर्शक पर्खाईमा समेत छन् तर फिल्मको बिशेष प्रदर्शन पछि मात्र अन्य तरिकाले प्रदर्शनमा आउने रामजी ज्ञवालीले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्