लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गर्मी बढेसँगै त्रासमा तराईका सर्वसाधारण

tillotmacitynews - 2024 Apr 20 04:43 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ८ गते ।  तराईमा बढ्दो गर्मीसँगै अनेकौं किसिमका त्रास पनि बढ्ने गर्छ । गर्मी याम सुरु भएसँगै विभिन्न मानवीय तथा प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुने हुँदा सर्वसाधारणमा त्रास बढ्न थालेको हो ।


मधेश प्रदेशको विभिन्न जिल्लामध्ये गर्मी याममा पीडित हुने जिल्ला रौतहट पनि हो । लामखुट्टे र भुसुनाको प्रकोपका कारण लाग्ने विभिन्न किसिमका रोग, सर्प बिच्छी जस्ता विषालु जीवको टोकाइको भय, हावाहुरी तथा आगलागीबाट हुने धनजनको क्षति गर्मी याममा नै अधिक हुने हुँदा तराईमा बढ्दो गर्मीसँगै सवसाधारणमा त्रास पनि बढेको हो । 


वैशाख र जेठ महिनामा हुने अत्यधिक गर्मीमा शितलताका लागि यहाँका गरिब तथा विपन्न वर्गका मानिस राति खुला चौर, चौतारो तथा घरको आँगनमा झुल बिना नै असुरक्षित सुत्ने गर्छन् । दिन भरीको ज्याला मजदुरीले थकित उनीहरु ढल्किने बित्तिकै निदाउँछन् र लामखुट्टे तथा भुसुनाले टोकेको पत्तो पनि पाउँदैनन् ।


लामखुट्टे र भुसुनाको टोकाइबाट लाग्ने विभिन्न प्रकारका रोगको शिकार यहाँका अधिकांश गरिब तथा विपन्न वर्ग हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटको अभिलेख छ । भुसुनाको टोकाइबाट लाग्ने कालाज्वर, लामखुट्टेबाट लाग्ने मलेरिया, डेंगु, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस जस्ता रोग र यसको प्रकोप गर्मी याममा नै बढी हुने जिल्ला स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी अनिलकुमार कर्ण बताउनुहुन्छ ।


यसैगरी गर्मी याममा सर्पको टोकाइबाट घाइते हुनेहरु र मर्नेको सङ्ख्यामा पनि कमी देखिदैन । जिल्ला अस्पताल गौर र चन्द्रनिगाहपुर अस्पतालमा मात्र सर्पले टोकेको उपचार गरिन्छ । गौर र चन्द्रनिगाहपुरको अभिलेख अनुसार गत वर्ष सात सयको हारहारीमा सर्पले टोकेका बिरामीको उपचार गरिएको थियो । जसमध्ये उपचार ढिलो गर्ने पाँच जनाले ज्यान गुमाएका छन् ।


त्यस्तै, गर्मी याममा नै हावाहुरीको प्रकोप अत्यधिक रहन्छ । रौतहटमा वर्षेनी हुरीबाट ठूलो धनजनको क्षति भइरहेको छ । गर्मी याम सुख्खा हुने हुँदा आगलागीबाट पनि वर्षेनी ठूलो आर्थिक तथा भौतिक क्षति भइरहेको छ । असावधानीका कारण आगलागीको घटना हुने गरेको छ । २०८० चैत २३ गते खाना पकाउने ग्यास चुहावटका कारण रौतहटको इशनाथ नगरपालिका–९ डुमरिया गाउँका शेखइशहाक मियाँको घरमा आगलागी हुँदा करिब छ लाख रुपियाँको धनमाल जलेर नष्ट भएको थियो । 


गर्मी याम सकिए लगैत्त आउने वर्षा याममा आकाशमा बादल लाग्ने वित्तिकै डराउनु पर्ने अवस्था छ, रौतहटमा । रौतहटको पूर्वी भाग भइ बग्ने बागमती, मध्य भाग भइ बग्ने लमहा (झाँझ) र पश्चिम भाग भइ बग्ने लालबकैया नदीले वर्षेनी खेति योग्य जमिनलाई मरुभूमि, बसोबासलाई विस्थापित, तथा धनजनको समेत ठूलो क्षति पुर्‍याइरहेको छ । यसरी गर्मी याममा तराईका मानिसहरु त्रासै त्रासले जीवन बिताइरहेका छन् । 


गर्मी याममा हुने यस प्रकारको त्रास तथा जनधन क्षति हुनबाट बच्न र बचाउनका लागि सर्वसाधारणले उच्च सतर्कता अपनाउनु पर्ने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य सपूतबहादुर कार्कीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्