लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सुरक्षा कोषको सुविधा क्षेत्र विस्तार गर्न सुझाव

IMG

तिलोत्तमा सिटी, २०८० चैत २२  गते । सामाजिक सुरक्षा कोषमा भएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य सदस्यलाई पनि समेट्न रोजगारदाताहरुले सुझाव दिएका छन् । सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायका विषयमा भएको छलफलमा रोजगारदाताहरुले त्यस्तो सुझाव दिएका हुन् । छलफलमा भाग लिनुहुँदै उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन र त्यसप्रति नयाँ व्यक्तिहरुलाई आकर्षित गर्न परिवारका अरु सदस्यहरुलाई पनि बिमा सुविधा दिने व्यवस्था थप्न सकिने बताउनुभएको हो ।


अध्यक्ष सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्याहरु नीतिगत स्पष्टताका साथ समाधान गर्नुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा कोषजस्तै उद्योगी व्यवसायीलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी कुनै कोषको व्यवस्था गर्नु उपयुक्त हुने अध्यक्ष सुरानाको सुझाव थियो । सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या समाधानका उपाय पहिचान गर्न आयोजना गरिएको छलफलमा कोषका प्रतिनिधि, उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाहरु पनि सहभागि हुनुहुन्थ्यो ।


कोषका निर्देशक उत्तमराज नेपालले कोषको कानुनी आधारहरुलाई समय सापेक्ष सुधार गरी सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै लगिने बताउनुभयो । उहाँले कोषमा आवद्ध भएका सबैको सामाजिक जोखिम न्यूनीकरण गरी सामाजिक सुरक्षाको सुनिश्चित गर्ने तर्फ कोषले ध्यान दिइरहेको बताउनुभयो । निर्देशक नेपालले कार्यान्वयन तहमा देखिएका कतिपय समस्यालाई कोषले सहज बनाउँदै आश्रित परिवारको दायरा फराकिलो बनाउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।


उद्योग प्रतिष्ठान र सेवा प्रदायक अस्पतालका प्रतिनिधिहरुको सहभागितामा भएको अन्तरक्रियामा उद्योगी व्यवसायीले औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनाका व्यवस्थाको सेवा उपभोगको क्रममा भोग्नु परेको समस्या समाधानका लागि कोषलाई सेवा प्रदायक अस्पतालहरुसँग समन्वय गर्न आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्