लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आँखाको नानी प्रत्यारोपण गर्न लाग्ने सबै खर्च लुम्बिनी प्रदेश सरकारले बेहोर्ने

tillotmacitynews - 2024 Apr 02 06:53 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २०  गते । लुम्बिनी प्रदेशमा अबदेखि आँखाको नानी प्रत्यारोपण नि:शुल्क हुने भएको छ।  अबदेखि प्रदेशभरका नागरिकको आँखाको नानी प्रत्यारोपण गर्न लाग्ने सबै खर्च प्रदेश सरकारले बेहोर्ने लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बताए। मंगलबार तुलसीपुरमा कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका स्वास्थ्य मन्त्री खनालले एक जना व्यक्तिको नानी प्रत्यारोपण गर्न २४ हजार तीन सय १० रुपैयाँ लाग्ने र त्यो सबै खर्च अबदेखि प्रदेश सरकारले बेहोर्ने जानकारी दिए।  लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग एवम नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा निशुल्क आँखाको नानी प्रत्यारोपण कार्यक्रम सुरू गरिएको हो।


‘शरीरका सबै अंगहरू सशक्त हुँदाहुँदै पनि कुनै कारणले व्यक्तिले आँखाको ज्योति गुमाउनु पर्दा अरू अंगहरू पनि निष्क्रिय भएर जान्छन्,’ मन्त्री खनालले भने, ‘त्यस्ता व्यक्तिले गरिबी, अशिक्षाका कारणले उपचार गर्नबाट बञ्चित हुनु नपरोस् र सहजै नानी प्रत्यारोपण गरी जीवन सहज बनाउन सकून् भन्ने उद्देश्य हाम्रो हो।’ संविधानमा उल्लेखित स्वास्थ्य सम्बन्धी नागरिक हक पूरा गर्न कठिन हुने स्थिति नआओस् भनेर लुम्बिनी सरकार सजगताका साथ काम गरिरहेको उनले दाबी गरे। 


कार्यक्रमलाई सम्बोधन गर्दै आँखा अस्पतालका एकेडेमिक चिफ डा. सुरेश रसाइलीले तुलसीपुरस्थित राप्ती आँखा अस्पताल रक्षाचौरमा मात्रै दुई वर्षको अवधिमा एक सय जना व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्