लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टी–२० सिरिजमा नेपाल च्याम्पियन

IMG

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको दोस्रो खेलमा आयरल्यान्डलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई सोमबार ६ विकेटले हराएको थियो । जितका लागि एक सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि स्टेफेन डुहेनीले २६ रन बनाउनुभयो ।यस्तै मोर्गन टोपिङले २१, काडे कार्माइकलले १८, कप्तान नेल रक र रोस अडिरले १७/१७ तथा ग्रेथ डेलानीले १५ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।


आयरल्यान्डलाई सस्तैमा समेट्न बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । यस्तै करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९८ रन बनाएको थियो । नेपालका लागि बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा एक चौका र चार छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाउनुभयो ।


कुशल मल्लले ३४, कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१,अनिल शाहले १२, आसिफ शेखले ११ र विवेक यादवले अविजित सात रन बनाउनुभयो । बलिङमा आयरल्यान्डका म्याथ्यु फस्टरले तीन विकेट लिनुभयो । बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट झार्नुभयो । 

कमेन्ट गर्नुहोस्