लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउ गाउँपालिकामा दुई दिन सेवा ठप्प हुने

tillotmacitynews - 2024 Mar 09 01:24 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २६ गते । पाल्पाको तिनाउ गाउँपालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिस लगायतका काम हुने छैनन् । गाउँपालिका तथा वडाका कार्यालयहरुले सोही अनुसार सेवाग्राहीलाई जानकारी गराएका छन् । उक्त दिन कुनै सार्वजनिक विदा वा विशेष दिन नभई यहाँका जनप्रतिनिधिहरु पोखरा यात्रामा हुने भएकाले कार्यालयहरु खुलेपनि जनप्रतिनिधिबाट हुने काम भने अबरुद्ध हुने तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताए । विभिन्न १० वटा विषयबस्तुमा छलफल तथा जनप्रतिनिधिहरुलाई अभिमूखिकरण गर्नका लागि पोखराको होटल पौवामा २ दिनसम्म तालिम सञ्चालन हुने भएको बस्नेतले बताए ।


तालिम तथा गोष्ठीको नाममा जनप्रतिनिधिहरुले सिङ्गो गाउँपालिकाकै सेवा प्रभावित हुनेगरी आयोजना गरिएको हो । वार्षिक कार्यतालिकामै राखेर कर्मचारी र जनप्रतिनिधिलाई भनि १३ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । यस पटक जनप्रतिनिधिहरुको पोखरा यात्रामा भने साढे ५ लाख बजेट खर्च हुने उनले बताए । ‘गाउँपालिकामै बैठक तथा तालिम सञ्चालन गर्दा जनप्रतिनिधिहरुले समय दिन नसक्ने तथा व्यवस्त हुने भएकाले त्यसमा ध्यान नजानेहुँदा पोखरा पुगेर कार्यक्रम आयोजना गर्नुपरेको हो ।’–प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने । जनप्रतिनिधिहरु शनिबार नै पोखरातर्फ लाग्ने र फागुन २९ गतेविहान पोखराबाट फर्किने बस्नेतले जानकारी दिए ।


पाल्पाका स्थानीय पालिकाहरुमा सरकारी बजेटमै जनप्रतिनिधि तथा कर्मचारीहरु घुमफिरमा जाने प्रवृत्तिको आलोचना हुँदै आएपनि रोकिएको भने छन् । यसअघि पाल्पाकै तानसेन नगरपालिकाले पोखरा पुगेर कार्यपालिका बैठक बसेको थियो । मेयर सन्तोषलाल श्रेष्ठका अनुसार वार्षिक समीक्षा गर्न पोखरा पुगेको अवसर पारी उतै कार्यपालिका बैठक सम्पन्न गरिएको थियो । वर्षभरीमा गरेका कामको समीक्षा गर्न मेयर श्रेष्ठसहित उपप्रमुख प्रतिक्षा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडाका अध्यक्षहरु तथा कार्यपालिका सदस्यको टोली गत कार्तिक २३ गते विहिबार पोखरा पुगेको थियो ।


यसैगरी पाल्पाको माथागढी गाउँपालिकाबाट कर्मचारी तथा जनप्रतिनिधिको टोली भारत भ्रमणमा निस्केपछि आलोचना भएको थियो । गएको कात्तिकमा पूर्वी नेपालको इलाम लगायतका ठाउँहरुको भ्रमणमा निस्किएको टोली सरकारी खर्चमै भारतको सिक्किममा समेत पुगेको थियो ।

कमेन्ट गर्नुहोस्