लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुरु हुँदै न्यु सृजना कप फुटबल प्रतियोगिता, उद्घाटन खेल फागुन ९ मा हुने

IMG

तिलोत्तमा,२०८० फाल्गुण ५ गते। रुपन्देही तिलोत्तमा नगरपालिकास्थित करौजिया खेलमैदानमा सञ्चालन हुन लागेको ६ औँ न्यु सृजना कप फुटबल प्रतियोगिता यही फागुन ९ गतेदेखि सुरु हुने भएको छ । फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था न्यु सृजना क्लब करौजियाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फागुन ९ गते देखि शुरु भई फागुन २६ गतेसम्म करौजिया स्थित न्यु सृजना खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा यसक्षेत्रका उत्कृष्ट १६ फुटबल टोलीको सहभागिता रहनेछ ।यहि फागुन ९ गते हुने उद्घाटन खेलमा सिद्धार्थ क्लब चपरहट्टी र शुद्धोदन गाउँपालिका बिच रोमाञ्चक खेल हुने आयोजकले बताएको छ। 

 

स्व: खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा सम्पन्न हुन लागेको उक्त प्रतियोगिता मार्फत गाउँगाउँ बाट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष सोभित दर्लामी मगरले जानकारी दिए ।पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सोबित थापा दर्लामीले खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित युवा उत्पादन गर्ने उदेश्यका प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएका छन्।उक्त प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाका बरिष्ठ सल्लाहकार धन बहादुर चौधरीले जानकारी दिए । 


न्यु सृजना युवा क्लबका संरक्षक तथा पत्रकार सम्मेलनका प्रमुख अतिथी क्याप्टेन नरजंग गुरुंगले दक्ष खेलाडी उत्पादन गर्दै रुपन्देहीलाई खेलकुदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने बताउनु भएको छ । उहाले बि.स. २०६० सालमा न्यु सृजना क्लबको स्थापना गरी खेलकुदको क्षेत्रमा काम गर्दै आए पनि सोचे अनुरुप खेलाडीहरुलाई अगाडी बढाउन नसकेको बताउनु भएको छ ।क्लबका सचिव धनकुमार कालुंगको स्वागत मन्तब्य रहेको पत्रकार सम्मेलनमा फुटवल प्रतियोगिताको रेफ्री अमर पुन, खेल संयोजक शेर बहादुर गुरुंग, सम्पुर्ण युवा क्लबको सचिव रबि अर्याल, झरना स्र्पाेटस क्लबका सचिव सिजन थापा, करौजिया टोल बिकास संस्थाका अध्यक्ष सबिराम समैमगर,रुपन्देही फुटवल संघका सदस्य तथा लिस्नु युवा क्लबका सहसचिव रामु भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम संचालन क्लबका बरिष्ठ सल्लाहकार धनबहादुर चौधरीले गर्नु भएको थियो । प्रतियोगिता आयोजनाका लागि ६ लाख ७४ हजार बढी खर्च लाग्ने अनुमान गरिएको छ भने खेल हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।


कमेन्ट गर्नुहोस्