
तिलोत्तमा,२०८० फाल्गुण २ गते। तिलोत्तमा नगरपालिकामा तिलोत्तमा कप क्रिकेट प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ यही फाल्गुन ५ गतेदेखि तिलोत्तमा-६ स्थित नयामिल १० नम्बरमा रहेको नवजीवन खेल मैदानमा प्रतियोगिता आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नवजीवन क्लबले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १७ वडा मध्ये १६ वटा वडाले सहभागिता जनाएका छन् भने वडा नम्बर १२ ले सहभागीता जनाएको छैन। आयोजक क्लबका उपाध्यक्ष सागर पाठकका अनुसार प्रतियोगितामा १६ टोलीले भाग लिने बताउनुभयो । खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई समेत गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ थियो । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा अन्य ब्यबस्थापन खर्च क्लबले गर्ने गरी आयोजना हुन लागेको सो प्रतियोगिताले यस नगर क्षेत्रका खेलाडीको प्रतिभा प्रस्फुटन हुने र देशका लागि खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष केशव प्रसाद भुसालले बताए। नगरभित्रका खेलाडीहरुलाई उचित स्थान दिन क्लबको यो खेल प्रतियोगिताले थप बल पुर्याउनेमा अध्यक्ष भुसाल आशाबादी हुनुहुन्छ।
प्रतियोगितामा विजेता हुने टोलीले रु ५० हजार सहित कप, पदक तथा प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष भुसालले बताउनुभयो । उपविजेताले रु २५ हजार, म्यान अफ दी सिरिजले, इमर्जिङ प्लेयरले र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डरले नगद उपहार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पुरस्कार पाउने भएका छन् । पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिका खेलकुद बिकास समितिका संयोजक लोक बहादुर पुन, बरिष्ठ उपाध्यक्ष प्रकाश न्यौपाने, गोबिन्द भण्डारी, क्लबका पुर्व अध्यक्षहरु, टिमका कोच म्यानेजर तथा खेलाडी प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा क्लबका अध्यक्ष र प्रमुख अतिथि द्वारा क्लबको ट्रफी अनावरण गरिएको थियो भने खेल संचालनार्थ चिठ्ठा थुताएर टाइशिटको काम समेत सम्पन्न गरिएको थियो।
कमेन्ट गर्नुहोस्