
तिलोत्तमा सिटी,२०८० माघ २८ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दैलेखमा दुर्घटना भएको छ । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आज सामाजिक सन्जालमा जिप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ लेखेका छन् । फोटो हेर्दा बाटो किनारमा जिप पल्टिएको देखिन्छ ।
जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए ।‘महासचिव ज्यूलाई केही भएको छैन,’ डिएसपी लम्सालले भने, ‘उहाँ चढेको गाडी बाटैमा पल्टिएपछि अर्को गाडी चढेर कार्यक्रममा सहभागी हुनुभएको थियो ।’ सोही जिपमा सवार एक जना सामान्य घाइते भएको र उनको हातमा चोट लागेको डिएसपी मल्लले बताए । महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट गाडी चढेर दैलेख जाँदै गर्दा दुर्घटनामा परेका थिए । जिप चालकले ब्रेक फेल भएर गाडी पल्टिएको बताएको डिएसपी लम्सालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्