लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङको टरिगाउँ विमानस्थल चलाउन सकस

IMG

तिलोत्तमा सिटी २०८० माघ २७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिव एवं उच्चस्तरका कर्मचारीहरू हवाई मार्ग हुँदै काठमाडौँ जानका लागि प्रायः बाँकेको नेपालगन्ज विमानस्थल वा रुपन्देहीको  गौतमबुद्ध विमानस्थल प्रयोग गर्दछन् । दाङ र आसपासका बासिन्दा तथा व्यवसायीको नियति पनि यस्तै नै छ । नेपालको पुरानो विमानस्थल मानिने दाङको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा यस्तो समस्या भएको हो । टरिगाउँ विमानस्थल साँघुरो भएको भन्दै दाङको नारायणपुरमा विमानस्थल निर्माण गर्न पहल भएको एक दशकभन्दा बढी समय भए पनि ठोस काम भएको छैन । परिणामस्वरुप दाङ जिल्लावासीले विमान सेवा प्रयोग गर्न नेपालगञ्ज वा भैरहवा पुग्नुपर्ने बाध्यता छ ।


टरिगाउँमा नियमित उडान नहुँदा आफूहरूलाई काठमाडौँ जान परे गौतमबुद्ध विमानस्थल र नेपालगन्ज विमानस्थल पुग्नु परेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बताइन् । २०११ सालमा स्थापना भएको दाङस्थित टरिगाउँ विमानस्थल ३१ वर्षसम्म सुचारु थियो । यो विमानस्थल ०४२ सालमा बन्द भएको थियो । ०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा फेरि खुलेको विमानस्थल ०६६ सालमा बन्द भयो । ०६८ माघपछि तुलसीपुर उद्योग वाणिज्य संघकै पहलमा नेपाल वायुसेवा निगमसँग विभिन्न सम्झौता गर्दै विमानस्थल फेरि सञ्चालनमा ल्याइयो तर, त्यो नौ महिनाभन्दा धेरै टिक्न सकेन ।


यसरी पटक–पटक बन्द हुने र खुल्ने गरेको यो विमानस्थल ०७५ असोजदेखि तुलसीपुर उपमहानगरपालिकाको पहलमा फेरि सञ्चालनमा आएको विमानस्थलका कर्मचारीहरू बताउँछन् । तुलसीपुर उद्योग वाणिज्य संघले ६ सिटको मूल्य बराबरको जिम्मा लिँदै काठमाडौँ–तुलसीपुर उडानका लागि सम्झौता भएको थियो । यात्रु नभएको अवस्थामा ६ सिटको मूल्य संघले निगमलाई प्रदान गर्ने गरेको छ । अहिले नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ तर नियमित उडान नहुँदा यात्री पूर्ण रूपमा यो विमानस्थलमा भर पर्न नसक्ने अवस्था छ ।


सीता एयरलाइन्सले पनि गत जेठ महिनासम्म यहाँ उडान गरेको थियो । व्यावसायिक रूपमा नेपाल एयरलाइन्सको उडान नियमित छैन । नेपाल एयरलाइन्स तुलसीपुर स्टेसनका प्राविधिक महेश वलीका अनुसार साउनदेखि हालसम्म ४६ वटा उडान भएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले नियमित उडान गर्न आफूहरूले सक्दो सहयोग गरे पनि अपेक्षाकृत रूपमा नभएको बताए ।


दाङबाट करिब १३५ किमी टाढा नेपालगञ्जको हवाई भाडा अलिक कम हुनका साथै छिटोछिटो विमान उडान हुने भएकाले धेरैले नेपालगञ्ज नै रोज्ने गरेका छन् ।  टरिगाउँ विमानस्थलको धावनमार्ग ९ हजार ७५० मिटरको छ । त्यसैले यो विमानस्थलमा १६ सिटे साना ट्विनअटर विमानमात्र सञ्चालन हुन्छ । अर्कोतिर नेपाल एयरलाइन्ससँग दुई वटामात्रै ट्विनअटर विमान छन् । ती पनि बेला बेलामा बिग्रने, धेरै यात्रु भएका पहाडी जिल्लाको विमानस्थल केन्द्रित हुने गर्दा यो विमानस्थलमा नियमित उडान हुन नसकेको हो । यो विमानस्थलमा प्राविधिक उपकरणको अभावमा न्यून भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न समस्या छ । त्यसैले हुस्सु लाग्दा पनि उडान रद्द हुने गरेको  नेपाल एयरलाइन्सका पूर्व स्टेसन प्रमुख महेन्द्र महत बताउँछन् ।


दाङबाट करिब १३५ किमी टाढा नेपालगञ्जको हवाई भाडा अलिक कम हुनका साथै छिटोछिटो विमान उडान हुने भएकाले धेरैले नेपालगञ्ज नै रोज्ने गरेका छन् । दाङमा ५ लाख जनसंख्या छ । त्यसका अलावा रोल्पा, सल्यान र प्युठान जिल्लाका नागरिकका लागि पनि यो विमानस्थल पायक क्षेत्र हो । तर उडान नियमित नहुँदा यात्रुहरूको विश्वास जित्न कठिन भएर चुनौती थपिएको छ । नेपाल आयल निगमबाट टरिगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाई इन्धन ‘रिफ्युलर’ सेन्टर पनि सञ्चालनमा आएको छ ।


यहाँ नियमित उडान गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पनि पहल गरिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । तर विमानस्थल निर्माण र सञ्चालनको अधिकार संघीय सरकारसँगै रहेकाले समस्या भएको मुख्यमन्त्रीको प्रेस संयोजक गोपाल  भट्टराईले बताए ।


तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा टरिगाउँ विमानस्थल विस्तारका लागि एउटा समिति  बनेको छ । उक्त समितिमा विभिन्न सरोकारवाला छन् । समितिको पहलमा टरिगाउँ विमानस्थल विस्तार गर्न डीपीआर तयार गर्ने काम भइरहेको उपप्रमुख चौधरीले रातोपाटीलाई बताइन् ।


नारायणपुरमा विमान विमानस्थल निर्माण गर्ने योजना थन्कियो

टरीगाउँको विमानस्थल साँघुरो भएको भन्दै संघ सरकारले दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको थियो । त्यहाँ विमानस्थल निर्माण सम्भाव्यता अध्ययनका लागि दुई करोड खर्च समेत भएको छ । केही काम लुम्बिनीका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा भएको थियो ।


बीडीए कन्सल्टेन्सी काठमाडौँका प्राविधिकहरूले गुर्जेखोलादेखि पश्चिममा हापुरे खोलासम्म र उत्तरमा मावि निघुवारदेखि दक्षिणमा घोराही–तुलसीपुर सडकसम्म विमानस्थल बनाउन सर्भे गरेका थिए । उक्त क्षेत्रमा रहेको १७ सय ७५ बिघा १९ कट्ठामा सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसमध्ये करिब छ सय ५० बिघा सरकारी जग्गा हो । ६ किलोमिटर लम्बाइ र साढे तीन किलोमिटर चौडाइको उक्त जमिन विमानस्थलका लागि उपयुक्त रहेको प्राविधिकहरूको निष्कर्ष थियो ।


प्राविधिक टोलीले नारायणपुरमा क्षेत्रीय विमानस्थल बनाउन उपयुक्त हुने निष्कर्ष निकालेको हो । आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने घोषणा भयो । तर हालसम्म थप प्रक्रिया अगाडि बढेको छैन ।

कमेन्ट गर्नुहोस्