लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोल्पाका दुई विकट गाउँमा पुग्यो बिजुली

tillotmacitynews - 2024 Feb 05 07:01 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ २२ गते । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको छ । ३३ केभी प्रसारण लाइनमार्फत वितरण गरिएको उक्त बिजुलीले वडा नम्बर ३ को बाहिरीगाम र वडा नम्बर ४ को सेउरी गाउँका करिब १ हजार घरमा विद्युत सेवा पुगेको नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ । बाहिरीगाम र सेउरी गाउँ भौगोलिक रुपमा विकट मानिन्छन् । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले आइतबार स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरे ।  गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने उनले बताए । आफू ऊर्जामन्त्री हुनुअघि रोल्पा जिल्लामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरुमा विद्युतीकरण पुगेको दाबी गरे । बाँकी २० प्रतिशत घरहरुमा पनि आगामी डेढदेखि २ वर्षभित्र बिजुली पुर्याउने प्रतिबद्धता उनले जनाए ।


नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकका दुई आयोजनामार्फत रोल्पाका सुनछहरी, लुंग्री, सुनिल स्मति, थवाङ, गंगादेव र परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाका विभिन्न वडाहरुमा विद्युतीकरणको प्रक्रिया अघि बढेको जानकारी दिए । 


केही महिनाको बीचमा लुंग्री गाउँपालिकाको वडा नम्बर–१,  रुण्टीगढी गाउँपालिकाका वडा नम्बर १ र ८, थवाङ गाउँपालिकाको वडा नम्बर–३, गंगादेव गाउँपालिकाका वडा नम्बर १ र ३ माडी गाउँपालिकाका वडा नम्बर–१ र २, त्रिवेणी गाउँपालिकाको वडा नम्बर– ६ मा बिजुली बालिएको जानकारी साहले दिए । ‘बाँकी २० प्रतिशत स्थानमा आगामी दुई वर्षभित्र बत्ती बाल्ने र जिल्लालाई उज्यालो बनाउने गरी काम भइरहेको छ’, उनले भने, ‘बिजुलीका पोलहरु ठाउँठाउँमा झार्ने काम सुरु हुँदैछ ।’

कमेन्ट गर्नुहोस्