लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप माघ १६ देखि

IMG

तिलोत्तमा, माघ १३ गते २०८०। स्थानीय खेलाडी, स्थानीय फुटबललाई प्राथमिकतामा राख्दै हरेक वर्ष आयोजना हुँदै आएको सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको छैठौं संस्करण यही माघ १६ गतेदेखि हुने भएको छ ।प्रतियोगिताबारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, देवीनगरका अध्यक्ष अर्जुन क्षेत्रीले प्रतियोगिताको मुख्य प्रायोजक पनि प्राप्त भएको जानकारी दिए । यसपटक स्थानीय फुटबलमा निरन्तर आफ्नो सहभागिता जनाउँदै आइरहेकी फुटबलप्रेमी तथा सामाजिक अभियन्ता श्रीमाया गुरुङ र उनको परिवारद्वारा स्व. पिता डिम बहादुर गुरुङ स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरिएको जानकारी गराइयो।


मुख्य प्रायोजनसँगै प्रतियोगिताको नाम स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिता रहने पनि क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए । साथै उनले प्रतियोगितामा सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताए ।उता मुख्य प्रायोजक बनेकी श्रीमाया गुरुङले दिवंगत पिता कै स्मृतिमा आफूले निन्तर खेलकुद र सामाजिक कार्यमा सहयोग गर्दै आएको स्मरण गर्दै फुुटबलप्रति आफ्नो विशेष रुची भएकै कारण गाउँघरकै फुटबललाई आफूले सकेको साथ दिएको बताईन् ।कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले सन्जिवनी कपले जिल्लाको फुटबलमा फरक पहिचान बनाएर अगाडी बढिरहेको चर्चा गर्दै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न शुभकामना दिए ।


यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए ।त्यस्तै प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहने खेल संयोजक खिम थापाले बताए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक थोरै भए पनि स्थानीय टिमहरुलाई नै सहभागिता गराइने बताए ।

कमेन्ट गर्नुहोस्