लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सञ्चालन खर्च बढ्दा नबिल बैंकको नाफा घट्यो

tillotmacitynews - 2024 Jan 21 12:30 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ७ गते । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन अर्ब २० करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा तीन अर्ब ४१ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा ६.२८ प्रतिशतले घटेको हो ।


बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमीसन आम्दानीमा वृद्धि भएको छ । यस्तै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा पनि सामान्य मात्रै वृद्धि हुँदा पनि बैंकको नाफामा घटेको छ । बैंकको सञ्चालन खर्चमा उल्लेख्य वृद्धि हुँदा नाफा प्रभावित भएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सात अर्ब ८३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।


चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाखमा पुगेको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी एक अर्ब २८ करोड २८ लाखबाट एक अर्ब ४८ करोड ४४ लाख पुगेको छ । आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब ८८ करोड ७६ लाख रुपैयाँबाट सामान्य बढेर एक अर्ब ९७ करोड १८ लाख रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च एक अर्ब ८५ करोड ९३ लाखबाट बढेर दुई अर्ब ४९ करोड २४ लाख पुगेको छ ।


यस्तै अन्य सञ्चालन खर्च ७८ करोड २० लाखबाट बढेर ८९ करोड ४० लाख पुगेको छ । जसले बैंकको सञ्चालन नाफा र नाफा घटेको हो । पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा ४ अर्ब ८६ करोड १८ लाख रुपैयाँबाट ६.१८ प्रतिशतले घटेर चार अर्ब ५६ करोड ११ लाख रुपैयाँमा झरेको छ ।


नाफा घटेको बैंकले एक अर्ब ४ करोड ९० लाख रुपैयाँ बयाज उठाउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा ९६ करोड ९५ लाख वितरणयोगय मुनाफा आर्जन गरेकोमा गत आवको मुनाफाबाट लाभांश वितरणपछिकेा सञ्चित नाफासहित एक अर्ब ८ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य मुनापा रहेको छ ।


चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुवैमा सुधार भएको छ । असार मसान्तमा तीन खर्ब ९६ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर चार खर्ब २८ अर्ब ८३ करोड ५ लाख पुगेको छ ।


यस्तै बैंकको कर्जा तीन खर्ब ३१ अर्ब १२ करोड ३१ लाख रुपैयाँबाट तीन खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ पुगेको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसाबाट घटेर २३ रुपैयाँ ७४ पैसा झरेको छ । प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा र मूल्य आम्दनी अनुपात २०.८३ गुणा रहेको छ ।


यस्तै बैंकको पुँजीकोष १२.५३ प्रतिशतबाट ११.५४ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात १.४६ प्रतिशतबाट २.४० प्रतिशतमा झरेको छ । पुसमा बैंकको सीडी रेसियो ८४.९५ प्रतिशत, आधार दर ९.०७ प्रतिशत र औसत स्प्रेड दर ४ प्रतिशत रहेको छ ।

कमेन्ट गर्नुहोस्