
तिलोत्तमा, पौष २७ गते २०८०। पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीको अवसर पारेर बुटवलमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं १० पृथ्वी पथमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक शुक्रबार एक कार्यक्रमकाबीच अनावरण गरिएको हो । शालिक निर्माण गर्न वडा अध्यक्ष बल बहादुर पुनले एक बर्ष अगाडीबाटै शुरुवात गरि समयमै काम सिध्याएका थिए। शालिक निर्माण समितिगठन गरि वडाको केही आर्थिक सहयोग र स्थानीयको अन्य आर्थिक तथा व्यवस्थापन सहयोगमा उनले आफु निर्वाचित भएर आएपछि सो शालिक बनाउने घोषणा गरेका थिए। आफ्नो कार्यकक्षमा वडाको सचित्र नक्सा, ग्रेटर नेपालको नक्सा, पृथ्वी नारायण शाहको तस्बीर समेत राखिसकेका वडा अध्यक्ष पुनले पृथ्वीनारायण शाहको नेपाल एकिकरणकै कारण नेपाल देशको रूपमा स्थापित भएको बताउनुभयो । बाइसे र चौबिसे राज्यमा बिभाजित रहेको मुलुकलाई पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपाल रहन्थ्यो कि रहन्थेन भन्दै उहाले राष्ट्रलाई योगदान गर्ने बिभुतिहरूको सम्मानका लागि सो शालिक राख्न जरुरी रहेको बताउनुभयो । गत बर्ष पृथ्वी जयन्तीकै दिन शिलान्यास गरिएको पृथ्वीनारायण शाहको शालिक पृथ्वी जयन्तीको अवसरमा शुक्रबार अनावरण गरिएको उहाँले बताउनुभयो ।सो अवसरमा शालिक निर्माणकर्ता राजु तुलाधर तथा चन्दादाताहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।बुटवल उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको केही र स्थानीय चन्दादाताको करिब १५ लाखको लागतमा शालिक निर्माण गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मिनु भएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उहाको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनु भएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको शेषपछि उहाका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गर्नुभयो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यकामा विजय हासिल गर्नुभयो । उपत्यकामा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनु भएको थियो । उहाका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका छन् । पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको थियो ।
कमेन्ट गर्नुहोस्