लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदीपसँग ‘ऐरी’मा काम गर्दै ‘जवान’ अभिनेता सांगे !

IMG

तिलोत्तमा, २२ पुस २०८०। अभिनेता प्रदीप खड्काको बहुभाषिक फिल्म ‘ऐरी’मा बलिउड कलाकारलाई पनि जोड्ने प्रयास भैरहेको छ । यसैक्रममा, बलिउड तथा भुटानी अभिनेता सांगे सेल्ट्रिम फिल्ममा मुख्य भूमिकामा देखिने भएका छन् । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा प्रदीपसहितको टिमले उनीसँग मुम्बईमा भेटघाट गर्दै फिल्म अफर गरेको थियो । उक्त भेटमै सांगे फिल्मलाई लिएर सकारात्मक देखिएका थिए।यसबीच, सेल्ट्रिम थप छलफलका लागि निर्माण टिमको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेका छन् । नेपाल बसाईकै क्रममा उनीसँग कागजी सम्झौता गर्ने तयारी भैरहेको निकट स्रोत बताउँछ । त्यसका लागि उनी पनि तयार देखिएका छन् । पहिलोपटक नेपाल आएका उनी शनिबार साँझ प्रदीपको गैरीधारास्थित ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ र ठमेलस्थित एलओडी क्लब पुगेका थिए ।


सांगेलाई फिल्ममा भित्राउन लाग्नुको पछाडि निर्माण टिमको दुईवटा उद्देश्य पनि छ । पहिलो, उनी भुटानी नागरिक भएकाले त्यहाँ फिल्म रिलिज गर्न सहज हुनेछ । दोस्रो, उनी भुटानको प्रतिष्ठित ओटीटी प्लेटफर्म ‘सांग्रिला’मा पनि आबद्ध छन् । जसले गर्दा उक्त ओटीटीमा पनि सहज रुपमा फिल्म रिलिजको बाटो खुल्नेछ । सांगेको नेपाली भाषा पनि अत्यन्त राम्रो रहेको जानकारी प्राप्त छ ।भुटानी फिल्म ‘सिंग्ये’मा काम गरेपछि सांगेले सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’बाट बलिउडमा डेब्यूको मौका पाएका थिए । यसपछि उनी गत वर्ष शाहरुख खानसँग फिल्म ‘जवान’मा देखिएका थिए । सेवानिवृत्त सैनिक समेत रहेका उनले भुटानको शाही अंगरक्षकको कप्तानको रुपमा काम गरेका थिए । आफ्नो फिटनेशमा विशेष ध्यान दिने गरेका सांगे ‘जिम ट्रेनर’ समेत हुन् ।


मल्टीमेटका सञ्चालक जीवन थापाको निर्देशनमा तयार हुन लागेको ‘ऐरी’ हिन्दी, अंग्रेजी, तमिल र नेपाली भाषामा निर्माण हुनेछ । फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले निर्माण गर्नेछन् । सुवास र प्रशान्त भारतीय निर्माता हुन् । फिल्मको अधिकांश छायांकन नेपालमा गरिने जनाइएको छ । फिल्मलाई २०२४ को अन्त्यतिर प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

कमेन्ट गर्नुहोस्