लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल–पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द

tillotmacitynews - 2024 Jan 01 12:57 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १६ गते ।  सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ । सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको जनाएको हो । पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर सुरुङ खन्न लागिएको हो । यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक बन्द नहुने सिद्धबाबा सुरुङमार्ग आयोजनाले निकालेको सूचनामा उल्लेख छ ।


सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड राति बन्द हुने भएको हो । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइएको छैन । सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गर्दैछ । निर्माणका क्रममा यातायात सञ्चालन हुँदा माथिबाट ढुंगा खसेर जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको योजना कार्यालयले जनाएको छ ।


सडक बन्द हुने समयमा साना सवारी साधनहरु बेलबास–नुवाकोट–दोभान वैकल्पिक मार्ग भएर आवतजावत गर्न सक्ने सुरुङमार्ग योजना कार्यालयले जनाएको छ । सडक बन्द हुने समयमा पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधनहरु तिनाउ गाउँपालिकाको जडिबुटीचोक र सत्यवती जाने बाटोमा र बुटवलबाट पाल्पा जाने सवारी साधनहरु बुटवलको चिडियाखोला र तल्लो सिद्धबाबामा रोकिनेछ ।

कमेन्ट गर्नुहोस्